रुपन्देही खबर , ४५ पटक हेरिएको
नवलपरासी, जेठ १५
सुनवल नगरपालिका–१ शान्तीटोलस्थित एक घरमा चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मानिस नभएको मौका छोपी अपरिचित व्यक्तिहरुले साढे दुई तले घरको मूल ढोकाको च्यानल गेटको ताला फुटाई घरभित्र प्रवेश गरेका थिए । उनीहरुले कोठाभित्र रहेको बाकस तथा दराज फोडी सुनचाँदीका गरगहना तथा अन्य सामान चोरी गरेका थिए ।
चोरी भएका सामानमा दुई तोला सिक्री, तीन तोला बाला, एक तोला कुण्डल, एक तोला जन्तर, एक तोला औँठी, दुई तोला ब्रासलेट, टिभी, क्यामेरा, दुर्बिन तथा तामाको कलश रहेका छन् । घटनाको अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–३ खैरेनी निवासी अन्दाजी २३ वर्षीय ऋषिराम कवँर र सोही स्थानका अन्दाजी २५ वर्षीय होमेन्द्रनाथ कवँर रहेका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपरासीले उनीहरुलाई चोरीका सामानसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-२९ , समय : १९:५२:५५ , २ घन्टा अगाडि