उर्मिला यादव यात्री , ७२ पटक हेरिएको
भैरहवा, जेठ १५
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले करेसाबारी (कौसी खेती) कार्यलाई अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने करेसाबारी तथा कौसी खेती तालिम कार्यक्रम सुरु गरेको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा समाजसेवी नारायण प्रसाद अग्रवालको प्रमुख आतिथ्यतामा आज शुक्रवारदेखि तालिम कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नारायण प्रसाद अग्रवालले तालिमको उदघाटन गर्नु हुदै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले पछिल्लो समय नागरिकको आवश्यकता अनुसार विभिन्न जनमुखी, सीपमूलक तथा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै उदाहरणीय काम गर्दै आएको बताउनुभयो । उहाँले विशेषगरी महिला सशक्तीकरण, सरसफाइ, कृषि तथा स्वरोजगारमूलक तालिममार्फत वडाले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो ।

उहाँले करेसाबारी तथा कौसी खेती तालिमले शहरी कृषिलाई प्रवद्र्धन गर्नुका साथै स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

यस्तै गरी कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा कार्यालयले नागरिकको आवश्यकता र चाहनाअनुसार विभिन्न सीपमूलक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले शहरी क्षेत्रमा बढ्दो खाली स्थानका बीच कौसी खेती र करेसाबारीलाई प्रवद्र्धन गरी घर–घरमा ताजा तथा विषादीरहित तरकारी उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भयो ।
श्रेष्ठले वडा नम्बर ५ लाई हरियाली, सफा र आत्मनिर्भर वडा बनाउने लक्ष्यसहित कृषि, सरसफाइ, महिला सशक्तीकरण तथा स्वरोजगारसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्दै आगामी दिनमा पनि यस्ता उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
उहाँले घर–घरबाट निस्कने फोहोरलाई उचित व्यवस्थापन गर्न सके त्यसलाई प्राङ्गारिक मलका रूपमा प्रयोग गरी करेसाबारी तथा कौसी खेतीमा उपयोग गर्न सकिने धारणा व्यक्त गर्नुभयो । कुहिने र नकुहिने फोहोर छुट्याउने बानीको विकास गर्न सके वातावरण संरक्षणका साथै घरमै गुणस्तरीय मल उत्पादन गर्न सकिने उहाँको भनाइ थियो । फोहोर व्यवस्थापन र सरसफाइलाई अभियानकै रूपमा अगाडि बढाइएको उल्लेख गर्दै श्रेष्ठले स्वस्थ, सफा र हरियालीयुक्त वडा निर्माणका लागि सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक तथा सिद्धार्थनगर नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले करेसाबारी तथा कौसी खेतीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक प्रविधि, मौसमी तरकारी उत्पादन, जैविक मलको प्रयोग तथा घरायसी उत्पादनलाई प्राथमिकता दिनुपर्ने विषयमा जानकारी गराउनुभयो ।

यस्तै गरी कार्यक्रममा एकल महिला समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अरुणा श्रेष्ठले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तथा उत्पादनमुखी तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले करेसाबारी तथा कौसी खेतीले घरपरिवारको दैनिक खर्च घटाउनुका साथै स्वस्थ र विषादीरहित तरकारी उपभोगमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
उहाँले महिलाहरूलाई घरको खाली स्थान र कौसीको सदुपयोग गरी व्यावसायिक रूपमा समेत तरकारी उत्पादनतर्फ अग्रसर हुन आग्रह गर्दै यस्ता तालिमले आत्मविश्वास र स्वरोजगारका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

समाजसेवी टीकाराम भट्टराईले वातावरण संरक्षण र स्वस्थ जीवनशैलीका लागि करेसाबारी तथा कौसी खेती प्रभावकारी माध्यम बन्ने बताउनुभयो । उहाँले घरमै उत्पादन हुने विषादीरहित तरकारीले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यस्ता तालिमले समुदायमा व्यावहारिक ज्ञान विस्तार गर्ने धारणा व्यक्त गर्नुभयो ।

यस्तै गरी नागरिक सरोकार मञ्चका अध्यक्ष आनन्द प्रसाद गुप्ताले शहरी क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न स्थानीय तहले सञ्चालन गरेका कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन, सरसफाइ र कौसी खेतीलाई एकआपसमा जोडेर अघि बढाउन सके वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो ।

यस्तै गरी समाजसेवी पुनम जैसवालले घर–घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरी त्यसलाई प्राङ्गारिक मलका रूपमा प्रयोग गरेर कौसी खेती गर्न आग्रह गर्नुभयो । उहाले करेसाबारी तथा कौसी खेतीले घरपरिवारको दैनिक खर्च घटाउनुका साथै स्वस्थ खाद्य संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जैसवालले कुहिने फोहोरलाई सदुपयोग गर्न सके वातावरण सफा राख्नुका साथै घरमै ताजा तथा विषादीरहित तरकारी उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले सरसफाइ, हरियाली प्रवद्र्धन र स्वस्थ जीवनशैलीका लागि कौसी खेती प्रभावकारी माध्यम भएको उल्लेख गर्दै सबैलाई आफ्नो घरको खाली स्थान तथा कौसीको सदुपयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य बिनित बेरिवालले स्वागत मन्तव्य रहेको कार्यक्रममा रुपन्देही एफएमका स्टेशन म्यानेजर शंकर पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै शहरी खेतीलाई प्रोत्साहन गर्न यस्ता तालिम प्रभावकारी हुने बताउनु भएको थियो भने कार्यक्रम संचालन वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।

तालिमको पहिलो दिन प्रशिक्षक शेखरनाथ पन्थीले फोहोरमैला व्यवस्थापन तथा सरसफाइ सम्बन्धी सहजीकरण गर्नुभएको थियो । भने दुई दिनसम सिद्धार्थनगर नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादव तथा नाथु प्रसाद चौधरीले करेसाबारी व्यवस्थापन, कौसी खेती प्रविधि, तरकारी उत्पादन तथा जैविक खेती सम्बन्धी विषयमा सहजीकरण गर्नुहुने आयोजकले जनाएको छ । तालिममा वडा नम्बर ५ का २८ जना महिलाहरुको सहभागी रहेको छ ।
प्रकाशित मिति: २०२६-०५-२९ , समय : २०:३८:५७ , १ घन्टा अगाडि