रुपन्देहीमा ट्राफिक प्रहरीको सरप्राइज चेकिङ : लाइसेन्सविहीन ४४ ई-रिक्सा चालक कारबाहीमा

रुपन्देही खबर , १६१  पटक हेरिएको

भैरहवा,जेठ १७

सडक सुरक्षा अभिवृद्धि तथा ट्राफिक अनुशासन कायम गर्ने उद्देश्यले रुपन्देहीमा सञ्चालन गरिएको विशेष आकस्मिक अनुगमन (सरप्राइज चेकिङ) का क्रममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका ४४ वटा ई-रिक्सा कारबाहीमा परेका छन् ।

विभिन्न निकाय तथा सर्वसाधारणबाट प्राप्त गुनासो र सुझावलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले “अभियान सुरक्षित ई-रिक्सा यात्रा” अन्तर्गत विशेष चेकिङ अभियान सञ्चालन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा खटिएको टोलीले सिद्धार्थनगर नगरपालिकाका विभिन्न व्यस्त क्षेत्रमा आकस्मिक चेकजाँच गरेको थियो । बुद्धचोक, लुम्बिनी गेट, देवकोटा चोक तथा भीम अस्पताल चोक लगायतका स्थानहरूमा गरिएको चेकिङका क्रममा बिना लाइसेन्स ई-रिक्सा सञ्चालन गरिरहेका चालकहरूलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

चेकिङका क्रममा ट्राफिक प्रहरीले चालकहरूलाई कारबाही गर्नुका साथै सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा जिम्मेवार चालकको भूमिकाबारे सचेतना समेत प्रदान गरेको थियो । पछिल्लो समय ई-रिक्साको संख्या बढ्दै जाँदा बिना अनुमतिपत्र सवारी सञ्चालन गर्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको भन्दै ट्राफिक प्रहरीले कडाइ सुरु गरेको जनाएको छ ।

प्रहरी निरीक्षक प्रतिमा कार्कीले सुरक्षित यात्रा सुनिश्चित गर्न प्रत्येक चालकले अनिवार्य रूपमा वैधानिक सवारी चालक अनुमतिपत्र लिएर मात्र जिम्मेवारीपूर्वक सवारी साधन चलाउनुपर्ने बताउनुभयो । उहाँले ट्राफिक नियम उल्लंघन गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता आकस्मिक अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडक सुरक्षामा सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्ण चालक तथा सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०२६-०५-३१ , समय : ०९:५०:४४ , ७ दिन अगाडि