रुपन्देही खबर , ५५ पटक हेरिएको
भैरहवा, जेठ २९
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–५ कार्यालयको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा भैरहवामा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मङ्गलबार वडा नम्बर–५ कार्यालय परिसरमा आयोजित शिविरमा १५६ जना स्थानीय नागरिकले आँखा तथा स्वास्थ्यसम्बन्धी सेवा लिएका छन् । शिविरमा आँखा जाँच, दृष्टि परीक्षण, स्वास्थ्य चेकजाच,परामर्श, तथन आवश्यक औषधि वितरण तथा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख इश्तियाक अहमद खानले नागरिकको स्वास्थ्य सुरक्षालाई स्थानीय सरकारको प्रमुख दायित्वका रूपमा लिएको बताउनुभयो । उहाँले सामान्य समस्या देखिए पनि धेरै नागरिक आर्थिक तथा अन्य कारणले अस्पतालसम्म पुग्न नसक्ने भएकाले समुदायस्तरमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले यस्ता शिविर महत्वपूर्ण हुने बताउनुभयो ।
नगरप्रमुख खानले आँखा शरीरको अत्यन्त संवेदनशील अंग भएकाले समयमै परीक्षण र उपचार गर्नुपर्नेमा जोड दिँदै स्थानीय तह, स्वास्थ्य संस्था र सामाजिक संघसंस्थाबीचको सहकार्यबाट नागरिकले थप प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर–५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा कार्यालयले भौतिक विकाससँगै नागरिकको स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा पनि विशेष ध्यान दिँदै आएको बताउनुभयो । उहाँले वडावासीको आवश्यकता पहिचान गरी विभिन्न समयमा स्वास्थ्य शिविर, बिभिन्न किसिमका सीपमुलक तालिम ,जनचेतनामूलक कार्यक्रम तथा सामाजिक अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
वडाध्यक्ष श्रेष्ठले आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्न नसक्दा दृष्टि गुम्ने जोखिमसमेत हुने भएकाले नियमित आँखा परीक्षणको बानी बसाल्न सबैलाई आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि विशेषज्ञ स्वास्थ्य संस्थासँग सहकार्य गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै समाजसेवी नारायण प्रसाद अग्रवालले स्वास्थ्य क्षेत्रमा गरिने सानो सहयोगले पनि समुदायका धेरै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । उहाँले स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यले जनतालाई घरदैलोमै गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने धारणा राख्नुभयो ।
यस्तै श्री रण अम्बिका शाह आँखा अस्पतालका फोकल पर्सन सञ्जिव अधिकारीले शिविरमा आएका नागरिकको आँखा परीक्षणसँगै आवश्यक परामर्श प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले धेरैजसो आँखा समस्या समयमै उपचार गरेमा नियन्त्रण गर्न सकिने बताउँदै नियमित आँखा जाँच गराउन सुझाव दिनुभयो । उहाँले आँखा अस्पतालले समुदायमा पुगेर स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले विभिन्न स्थानमा शिविर सञ्चालन गर्दै आएको जानकारी दिँदै स्थानीय तहको सहकार्यले सेवा विस्तारमा थप सहजता भएको बताउनुभयो ।
शिविरमा महिला, ज्येष्ठ नागरिक तथा विभिन्न उमेर समूहका नागरिकको सहभागिता रहेको थियो । स्थानीय नागरिकहरूले वडा कार्यालय र अस्पतालको सहकार्यमा गरिएको कार्यक्रमबाट घर नजिकै विशेषज्ञ सेवा पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा सदस्य सरस्वती श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने वडा सदस्य बिनित कुमार बेरिवालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२६-०६-१२ , समय : १०:५०:४१ , २ घन्टा अगाडि