रुपन्देही खबर , २१२ पटक हेरिएको
भैरहवा, जेठ २९
‘कृषि, पर्यटन र दिगो पूर्वाधारयुक्त नगरः समावेशी, मर्यादित, स्वच्छ र समृद्ध सियारी’ भन्ने मूल नाराका साथ रुपन्देहीको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेट तर्जुमाका लागि राय–सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ–संस्था, बुद्धिजीवी, कृषक, व्यवसायी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले लिने नीति, प्राथमिकता र विकास योजनाबारे छलफल गर्दै स्थानीयस्तरबाट आवश्यक सुझाव संकलन गरिएको हो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले जनताको प्रत्यक्ष सहभागिता र सुझावका आधारमा नीति तथा कार्यक्रम निर्माण गरिने बताउनुभयो ।
उहाँले गाउँपालिकाको विकास केवल बजेट विनियोजनले मात्र सम्भव नहुने भन्दै स्थानीय आवश्यकता, समस्या र सम्भावनालाई पहिचान गरी योजना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, पूर्वाधार विकास तथा रोजगारी सिर्जना गाउँपालिकाको मुख्य प्राथमिकतामा रहने उहाँको भनाइ थियो ।
“जनताले भोगिरहेका समस्या र स्थानीयस्तरका आवश्यकता बुझेर बनाइने योजना नै प्रभावकारी हुन्छ,” अध्यक्ष घिमिरेले भन्नुभयो, “त्यसैले नीति तथा कार्यक्रम निर्माणअघि नागरिकको सुझावलाई प्राथमिकताका साथ लिएका छौं ।”

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्थानीय तहको बजेट तथा कार्यक्रमलाई व्यवहारिक, पारदर्शी र जनमुखी बनाउन सुझाव संकलन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले विगतका योजनाको समीक्षा गर्दै आगामी आर्थिक वर्षमा आवश्यक क्षेत्र पहिचान गरी प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने उल्लेख गर्नुभयो । प्राप्त सुझावहरूले गाउँपालिकाको नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले गाउँपालिकाको विकासका लागि विभिन्न सुझाव राखेका थिए । उनीहरूले ग्रामीण सडक तथा बाटाघाटोको स्तरोन्नति, शिक्षा क्षेत्रको सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषि उत्पादनलाई व्यावसायिक बनाउने, किसानलाई प्रोत्साहन तथा बजार व्यवस्थापन गर्नुपर्ने विषय उठाएका थिए ।

त्यस्तै, खानेपानी, सरसफाइ, सिंचाइ, युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम, महिला तथा लक्षित वर्गका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव समेत स्थानीयले दिएका थिए ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गर्दा प्राप्त सुझावलाई समेटेर सन्तुलित र दीर्घकालीन विकासलाई प्राथमिकता दिने जनाएको छ । जनताको सहभागिताबाट तयार हुने बजेटले सियारी गाउँपालिकालाई थप समृद्ध र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २०२६-०६-१२ , समय : २०:१७:२२ , १ महिना अगाडि