छोरीको जन्मदिनमा २० लाखको जीवन बीमा उपहार

पौडेल दम्पतीको प्रेरणादायी पहल

रुपन्देही खबर , ६९  पटक हेरिएको

बुटवल,असार २

जन्मदिनमा केक, लुगा, खेलौना वा नगद उपहार दिने परम्परालाई फरक ढंगले प्रस्तुत गर्दै बुटवलका एक दम्पतीले आफ्नी छोरीको भविष्य सुरक्षित गर्ने उद्देश्यसहित जीवन बीमा पोलिसी उपहार दिएका छन् ।

अर्घाखाँचीको सन्धिखर्क–४ वाङ्ला स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बेल्बास निउरे टोल निवासी बाबुराम चुदाली पौडेल र उहाको श्रीमती गीता आचार्य पौडेलले छोरी अन्शिका पौडेलको जन्मदिनको अवसरमा २० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार प्रदान गर्नु भएको हो ।

पौडेल दम्पतीले जीवन बीमा केवल जोखिम व्यवस्थापनको माध्यम नभई दीर्घकालीन बचत, आर्थिक अनुशासन र भविष्य सुरक्षाको आधार भएको बताउनु भएको छ । छोरीको उच्च शिक्षा, व्यक्तिगत विकास र भविष्यका आवश्यकतालाई ध्यानमा राख्दै बीमा योजना लिएको उहाहरूको भनाइ छ ।

“आजको सानो बचतले भोलिको ठूलो आधार तयार गर्छ। जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी छोरीको भविष्य निर्माणसँग जोड्ने प्रयास गरेका हौं,” गीता आचार्य पौडेलले भन्नु भयो ।

बाबुराम चुदाली पौडेलले आफूले करिब १५ वर्षअघि गरेको जीवन बीमाबाट राम्रो सेवा, सुविधा र प्रतिफल पाएको अनुभव सुनाउँदै समयमै बीमा गर्न सबैलाई आग्रह गर्नु भयो। उहाले जीवन बीमासम्बन्धी उचित जानकारी र परामर्श प्रदान गरेकोमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड मुर्गिया शाखाप्रति आभार व्यक्त गर्नु भयो ।

यस अवसरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मुर्गिया शाखाका प्रमुख ऋषिराम चुदालीले पौडेल दम्पतीको पहलको प्रशंसा गर्दै विशेष अवसरमा जीवन बीमा उपहार दिने संस्कारको विकास आवश्यक रहेको बताउनु भएको छ ।

“नगद वा जिन्सी उपहार समयसँगै सकिन सक्छन्, तर जीवन बीमा उपहारले दीर्घकालीन बचत, आर्थिक सुरक्षा र भविष्यप्रतिको भरोसा दिन्छ,” शाखा प्रमुख चुदालीले भन्नु भयो ।

उनले जीवन बीमाले आकस्मिक अवस्थामा परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने, बचत गर्ने बानी विकास गर्ने र दीर्घकालीन लक्ष्य पूरा गर्न सहयोग गर्ने बताउनु भयो ।

बीमा क्षेत्रका जानकारहरूका अनुसार जीवन बीमाले मानिसलाई तत्काल धनी बनाउने नभए पनि कठिन परिस्थितिमा परिवारलाई आर्थिक संकटबाट जोगाउने महत्वपूर्ण माध्यमका रूपमा काम गर्छ ।
पौडेल दम्पतीको यो पहलले जन्मदिन तथा अन्य विशेष अवसरमा खर्चमुखी उपहारभन्दा भविष्य निर्माण गर्ने उपहारको संस्कार विकास गर्न प्रेरणा दिएको छ । उनीहरूले अभिभावकहरूलाई आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि समयमै बचत र बीमाको योजना बनाउन आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति: २०२६-०६-१६ , समय : २०:४८:२८ , १ घन्टा अगाडि