रुपन्देही खबर , ५५ पटक हेरिएको
रुपन्देही, असार ३
रुपन्देहीको मायादेवी गाउँपालिका–५ पर्सहवा क्षेत्रमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा दुई वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार अनुगमनका क्रममा अवैध रूपमा नदिजन्य पदार्थ ढुवानी गरिरहेका लु २ ख ३७९८ र लु २ ख ३५२१ नम्बरका टिप्परलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि मायादेवी गाउँपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। गाउँपालिकाले उक्त सवारी साधनमाथि कारबाही गर्दै रु १ लाख ४ हजार ४ सय जरिवाना गरेको जनाएको छ।
प्रहरीले प्राकृतिक स्रोत–साधनको अवैध दोहन तथा ढुवानी नियन्त्रणका लागि जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र अनुगमनलाई निरन्तरता दिइरहेको जनाएको छ।
प्रकाशित मिति: २०२६-०६-१७ , समय : १९:४८:१५ , २ घन्टा अगाडि