एसिया कप २०२२ को सुपर फोरअन्तर्गत अफगानिस्तानविरुद्ध १०१ रनले भारतीय टिम बिजयी

रुपन्देही खबर , २२२  पटक हेरिएको

भदौ २४

एजेन्सी

यूएईमा जारी एसिया कप टी–२० प्रतियोगितामा भारतीय टिम तेस्रो बनेको छ । बिहीबार राति सम्पन्न सुपर फोरअन्तर्गत अफगानिस्तानविरुद्ध १०१ रनले विजयी भएसँगै भारत तेस्रो बनेको हो । भारतले सुपर फोरको तीनमध्ये एक खेल मात्र जित्न सक्यो । उसले पाकिस्तान र श्रीलंकाविरुद्ध भने हारको सामना गर्यो ।

अफगानिस्तानले भने सुपर फोरको तीनवटै खेलमा हार बेहोर्यो । आफ्नो अन्तिम खेलमा भारतले दिएको २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । उसका लागि इब्राहिम जाद्रानले ५९ बलमा दुई छक्का र चार चौकासहित अविजित ६४ रन बनाए ।

त्यस्तै, मुजीबउर रहमानले १८ र राशिद खानले १५ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि भुवनेश्वर कुमारले ४ ओभरमा एक मेडनसहित चार रन दिएर पाँच विकेट लिए । त्यस्तै, दीपक हूडा, रविचन्द्रन आश्विन र अर्शदीप सिंहले एक/एक विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१२ रन बनायो । उसका लागि पूर्वकप्तान विराट कोहलीले शतकीय पारी खेले । नियमित कप्तान रोहित शर्माको अनुपस्थितिमा ओपनिङ गरेका कोहलीले ६१ बलमा १२ चौका र ६ छक्काको मद्दतमा अविजित १२२ रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतकीय पारी हो ।

कोहलीले ५३ बलमा शतक पूरा गरे । उनले छक्का हिर्काउँदै शानदार तरिकाले शतक बनाए । कोहलीले १ हजार २० दिनपछि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका हुन् । उनी पछिल्लो केही वर्षयता शतकविहीन हुँदै आएका थिए । आज भने कोहलीले करियरकै उत्कृष्ट ब्याटिङ गरे । योसँगै उनले इतिहास पनि रचेका छन् ।

कोहलीले भारतका लागि टी–२० मा उच्च पारी खेल्ने ब्याटर बन्दै इतिहास रचेका हुन् । त्यस्तै, अफगानिस्तानविरुद्ध कप्तान केएल राहुलले ४१ बलमा ६ चौका र दुई छक्कासहित ६२ रन बनाए । त्यस्तै, ऋषभ पन्तले अविजित २० र सूर्यकुमार यादवले ६ रन जोडे । अफगानिस्तानका लागि फरीद अहमदले दुई विकेट लिए ।

प्रकाशित मिति: २०२२-०९-०९ , समय : ०६:४३:२१ , २ वर्ष अगाडि