रुपन्देही खबर , ५३ पटक हेरिएको
भैरहवा,असार ९
रुपन्देहीको ओमसतिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १० लाख ५४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ। सोमबार सम्पन्न गाउँपालिकाको १९ औं गाउँसभामा उपाध्यक्ष सुनिता चौधरीले उक्त बजेट सभासमक्ष प्रस्तुत गर्नुभएको हो। सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार गरिएको बजेटले गाउँपालिकाबासीको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको उपाध्यक्ष चौधरीले बताउनुभयो।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखिएको छ।
उपाध्यक्ष चौधरीका अनुसार आगामी आर्थिक वर्षका लागि कुल ५१ करोड १० लाख ५४ हजार रुपैयाँ बराबरको स्रोत व्यवस्थापन अनुमान गरिएको छ। संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ८७ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १६ करोड १९ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ८१ लाख ८३ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ १ करोड ५५ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ७५ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट ९ करोड ७८ लाख ६२ हजार रुपैयाँ, प्रदेश सरकारबाट ९९ लाख ९ हजार रुपैयाँ तथा स्थानीय राजस्व बाँडफाँडबाट १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।
खर्चतर्फ चालु खर्चका लागि ३३ करोड ८९ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने विकास निर्माण तथा पूँजीगत कार्यक्रमका लागि १७ करोड २१ लाख १९ हजार रुपैयाँ छुट्याइएको छ। गाउँपालिकाले विकास र सेवा प्रवाहबीच सन्तुलन कायम गर्दै बजेट कार्यान्वयन गर्ने नीति लिएको जनाएको छ।
बजेटले गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। भवन निर्माण सम्पन्न भएपछि सम्पूर्ण प्रशासनिक सेवा एकीकृत रुपमा सञ्चालन गरी नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने योजना रहेको उपाध्यक्ष चौधरीले बताउनुभयो।
यसैगरी गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले प्रस्तुत गर्नुभएको पालिकाको नीति तथा कार्यक्रम पनि सर्वसम्मतिले पारित भएको छ। अध्यक्ष यादवले पालिकालाई सुशासित, समृद्ध, प्रविधिमैत्री र नागरिकमैत्री स्थानीय सरकारका रुपमा स्थापित गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
अध्यक्ष यादवद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय तहलाई संविधानले प्रदान गरेको अधिकार, दायित्व र जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गाउँबासीको आवश्यकता र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
गाउँपालिकाले आम नागरिकको अपेक्षा र दिगो विकासका आधारभूत प्राथमिकतालाई केन्द्रमा राखेर बहुआयामिक योजनाहरू अघि सारेको जनाएको छ। सन्तुलित र समावेशी विकासअन्तर्गत नीति तथा कार्यक्रमले आर्थिक, सामाजिक, भौतिक, वातावरणीय तथा संस्थागत विकासका सम्पूर्ण आयामलाई समेटेको छ।
अध्यक्ष यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, स्थानीय समुदाय तथा सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, पूर्वाधार विकास, रोजगारी सिर्जना र सुशासन प्रवर्द्धनमार्फत ओमसतियालाई थप व्यवस्थित र समृद्ध गाउँपालिकाका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
उपाध्यक्ष चौधरीले प्रस्तुत गर्नुभएको बजेट र अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले गाउँपालिकाको आगामी विकासको दिशा तय गर्ने विश्वास व्यक्त गरिएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षमा पारदर्शी र प्रभावकारी ढंगबाट योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।
प्रकाशित मिति: २०२६-०६-२३ , समय : ११:१७:१९ , २ घन्टा अगाडि