रुपन्देही खबर , ४३ पटक हेरिएको
भैरहवा, असार १०
रुपन्देहीको सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ४९ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोमबार सम्पन्न गाउँपालिकाको १९ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष तारा थारुले उक्त बजेट सभासमक्ष प्रस्तुत गर्नुभएको हो ।
सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार मानेर तयार गरिएको बजेटले गाउँपालिकाबासीको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने लक्ष्य लिएको उपाध्यक्ष थारुले बताउनुभयो । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

उपाध्यक्ष थारुका अनुसार आगामी आर्थिक वर्षका लागि कुल ७२ करोड ४९ लाख ६४ हजार रुपैयाँ बराबरको स्रोत व्यवस्थापन अनुमान गरिएको छ । जसअन्तर्गत संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १२ करोड ५३ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २४ करोड ६७ लाख रुपैयाँ, विशेष अनुदानतर्फ १ करोड २५ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ २ करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १३ करोड ४० लाख २८ हजार रुपैयाँ र आन्तरिक आयतर्फ २८ करोड ५४ लाख ३६ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
कुल बजेटमध्ये चालु खर्चतर्फ ४८ करोड ७ लाख ९५ हजार रुपैयाँ र पूँजीगत तथा विकास निर्माणतर्फ २४ करोड ४१ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता
गाउँपालिकाले स्वास्थ्य सेवालाई अझ प्रभावकारी र पहुँचयोग्य बनाउन विभिन्न कार्यक्रमलाई बजेटमा समेटेको छ । मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया, निःशुल्क रक्तसञ्चारमा लाग्ने खर्च तथा ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिनेछ ।
वडा नं. ४ छपियामा रहेको १५ शैयाको अस्पताल सञ्चालन तथा आवश्यक उपकरण खरिदका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । आधारभूत स्वास्थ्य सेवा तथा नागरिक आरोग्य सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण तथा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ ।
मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि ‘स्वस्थ मन, स्वस्थ जीवन’ अभियान सञ्चालन गरिनेछ । स्वास्थ्य संस्थालाई न्यूनतम सेवा मापदण्डअनुसार सञ्चालन गर्न आवश्यक व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य सेवाको डिजिटल विस्तार, स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाको डिजिटाइजेसन तथा आवश्यक उपकरण व्यवस्थापनका लागि ५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
सियारी गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी सेवा सुनिश्चितता र पूर्ण खोप दिगोपन घोषणा कार्यक्रमलाई निरन्तरता दिइनेछ । पोषणमैत्री गाउँपालिका घोषणा गर्न सुत्केरीसँग उपाध्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ ।
महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान, यातायात खर्च तथा स्वास्थ्य बीमा पेन्सन योजनाका लागि २८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ । मुटु रोग, मधुमेह, दम, मृगौला रोग, मोटोपना तथा मानसिक रोगसम्बन्धी परीक्षण र उपचार व्यवस्थापनका लागि समेत बजेट छुट्याइएको छ ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसंख्यक समुदायको स्वास्थ्य बीमा सुविधालाई निरन्तरता दिँदै स्वास्थ्य बीमा कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षा र खेलकुदमा प्रविधि तथा क्षमता विकास
गुणस्तरीय, प्रविधिमैत्री र समावेशी शिक्षाको विकासलाई प्राथमिकता दिँदै गाउँपालिकाभित्रका माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड स्थापना गरिने भएको छ । यसका लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि विद्यालयमा लागूपदार्थ दुर्व्यसन, बालविवाह, यौन दुर्व्यवहार तथा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतना र मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिनेछ ।
नेपाल प्रहरीसँगको सहकार्यमा विद्यालयस्तरमा आत्मरक्षा (सेल्फ डिफेन्स) कार्यक्रम सञ्चालन गरिनेछ ।
विद्यालय शिक्षालाई व्यवहारिक र जीवनोपयोगी बनाउन ‘विद्यार्थीसँग गाउँपालिका’ कार्यक्रम सञ्चालन गरिनेछ । साइबर अपराध, सूचना प्रविधि, खाद्य सम्प्रभुता लगायतका विषयमा विद्यार्थीलाई अभिमुखीकरण गरिनेछ ।
विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन अनौपचारिक तथा वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
खेलकुद क्षेत्रको विकासका लागि सियारी शैक्षिक महोत्सव, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सञ्चालन गरिनेछ ।
कृषि र पशुपालनबाट आयआर्जन वृद्धि गर्ने लक्ष्य
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषकलाई आधुनिक तथा व्यवसायिक खेती प्रणालीतर्फ आकर्षित गर्न ‘कृषकसँग कृषि प्राविधिक’ कार्यक्रम सञ्चालन गरिनेछ ।
यस कार्यक्रममार्फत कृषकको घरदैलोमै प्राविधिक सेवा, माटो परीक्षण, रोग तथा कीरा नियन्त्रण, आधुनिक खेती प्रविधि र बजार व्यवस्थापनसम्बन्धी परामर्श प्रदान गरिनेछ ।
पशुपालन क्षेत्रको विकासका लागि भैंसी प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उद्यमशीलता र रोजगारीमा जोड
महिलालाई लघु उद्यममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले उद्यम विकास कार्यक्रम सञ्चालन गरिनेछ । नयाँ उद्यमी सिर्जना, सीप विकास तथा उद्यमीको स्तरोन्नतिका लागि १७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने कार्यक्रम, सहकारी संस्थाको अनुगमन, संस्थागत विकास तथा क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
उत्पादन र उद्यमशीलतामार्फत रोजगारी सिर्जना, सीप विकास तथा पुनःएकीकरण कार्यक्रमका लागि २० लाख ९४ हजार रुपैयाँ छुट्याइएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि करियर गाइडेन्स, जब फेयर तथा सीप विकास कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकाभित्र रोजगारीको अवस्था, वैदेशिक रोजगारीमा गएका तथा फर्किएका व्यक्तिको तथ्यांक संकलनका लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सियारी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत सामाजिक विकास, आर्थिक सशक्तीकरण, पूर्वाधार निर्माण र सुशासनलाई बलियो बनाउँदै समृद्ध गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०६-२४ , समय : २२:१०:२० , १ घन्टा अगाडि