नवलपरासीको सञ्चार क्षेत्र शोकमा : महासंघ अध्यक्ष केशव पराजुलीको निधन

रुपन्देही खबर , ३५  पटक हेरिएको

परासी, असार २०

नवलपरासीको पत्रकारिता इतिहासमा एउटा युगको शनिबार बिहान अन्त्य भएको छ। करिब चार दशकसम्म सत्य, तथ्य र जनसरोकारका विषयलाई कलममार्फत आवाज दिँदै आउनुभएका वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका वर्तमान अध्यक्ष केशव पराजुली अब यो संसारमा रहनुभएन। केही समयदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहनुभएका उहाँको ५६ वर्षको उमेरमा पृथ्वीचन्द्र अस्पताल, परासीमा उपचारका क्रममा निधन भयो।

उहाँको निधनसँगै नवलपरासीले केवल एक पत्रकार मात्र गुमाएको छैन, पत्रकारितालाई जीवनको धर्म मानेर निरन्तर समर्पित रहने एक असल अभिभावक, प्रशिक्षक र लोकतान्त्रिक मूल्य–मान्यताका दृढ पक्षधरलाई पनि गुमाएको छ। जिल्लाको पत्रकारिता विकासमा उहाँले पुर्‍याएको योगदानका कारण सञ्चारकर्मीहरू उहाँलाई पत्रकारिताको “संस्था”का रूपमा सम्झन्छन्।

पत्रकारिताको सुरुआत उहाँले पत्रकार गोविन्द वियोगी र होमनाथ दाहालको नेतृत्वमा प्रकाशित मातृभूमि साप्ताहिकबाट गर्नुभएको थियो। त्यसपछि २०४५ सालदेखि बुटवलबाट प्रकाशित दैनिक लुम्बिनीमा संस्थापक संवाददाताका रूपमा आबद्ध भएर सुरु भएको सक्रिय पत्रकारिताको यात्रा अन्तिम समयसम्म पनि निरन्तर रह्यो। बदलिँदो समयसँगै सञ्चार माध्यमको स्वरूप परिवर्तन भए पनि उहाँको पत्रकारिताप्रतिको निष्ठा भने कहिल्यै बदलिएको थिएन।

सदरमुकाम परासीमा स्थापना भएको पहिलो एफएम रेडियो रेडियो परासीमा समाचार सम्पादकका रूपमा उहाँले खेलेको भूमिका स्मरणीय मानिन्छ। परासी पत्र साप्ताहिकको कार्यकारी सम्पादकका रूपमा समेत काम गर्नुभएका उहाँले रेडियो नेपाल, रेडियो लुम्बिनी, जनसंघर्ष, तिनाउ एफएमलगायत विभिन्न सञ्चार संस्थामा रहेर जिल्लाको पत्रकारितालाई नयाँ उचाइमा पुर्‍याउन योगदान दिनुभयो।

पाल्पाको ख्याहा पुर्ख्यौली घर भएका पराजुली २०४३ सालमा पारिवारिक पुस्तक व्यवसायलाई निरन्तरता दिन परासी आउनुभएको थियो। तर व्यवसायसँगै उहाँको रुचि पत्रकारितामा गहिरिँदै गयो र अन्ततः पत्रकारिता नै उहाँको जीवनको परिचय बन्यो। झण्डै ३९ वर्ष नवलपरासीमै बिताउँदै उहाँले जिल्लाको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणका हरेक चरणलाई नजिकबाट देख्नुभयो र त्यसलाई निष्पक्ष रूपमा समाजसमक्ष प्रस्तुत गर्नुभयो।

२०४५ सालको जनआन्दोलनका क्रममा बहुदलीय प्रजातन्त्र स्थापनाको अभियानमा उहाँको सक्रिय सहभागिता थियो। लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा निर्भीक रूपमा कलम चलाउने पत्रकारका रूपमा उहाँको पहिचान स्थापित भयो। कठिन परिस्थितिमा पनि सत्य समाचार सम्प्रेषण गर्ने साहसले उहाँलाई पत्रकार समुदायमा विशिष्ट बनाएको थियो।

नेपाल पत्रकार महासंघमा उहाँको योगदान पनि उत्तिकै महत्त्वपूर्ण रह्यो। दाङ शाखाको संस्थापक सदस्यदेखि नवलपरासी शाखाको सदस्य, सचिव, कोषाध्यक्ष र अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्नुभएका उहाँ हाल दोस्रो कार्यकालका रूपमा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको थियो। पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र प्रेस स्वतन्त्रताको पक्षमा उहाँ सधैँ अग्रपंक्तिमा देखिनुहुन्थ्यो।

हुलाकमार्फत समाचार पठाउने समयदेखि मोबाइल र डिजिटल पत्रकारिताको युगसम्म आइपुग्दा प्रविधिमा आएको परिवर्तनलाई सहज रूपमा आत्मसात् गर्दै उहाँले पत्रकारितालाई समयअनुकूल अघि बढाउनुभयो। नयाँ पुस्ताका पत्रकारलाई सिकाउने, हौसला दिने र अवसर प्रदान गर्ने उहाँको स्वभावका कारण धेरै पत्रकार उहाँलाई आफ्नो अभिभावक मान्थे।

रामग्राम नगरपालिका–३, परासी बजारमा बसोबास गर्दै आउनुभएका पराजुलीका आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ। छोरीहरू बाहिर रहेका कारण परिवारले उहाँको अन्त्येष्टि असार २२ गते सोमबार त्रिवेणी घाटमा गर्ने जनाएको छ।

उहाँको निधनप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासी, विभिन्न सञ्चार संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था तथा नागरिक समाजले गहिरो दुःख व्यक्त गरेका छन्। महासंघले जारी गरेको शोक वक्तव्यमा पराजुलीको निधनले नेपाली पत्रकारिता र विशेषगरी नवलपरासीको सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। परासी पत्र साप्ताहिकले पनि आफ्ना संस्थापक कार्यकारी सम्पादकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान सधैँ स्मरणीय रहने जनाएको छ।

पत्रकारिता केवल पेशा नभई समाजप्रतिको जिम्मेवारी हो भन्ने मान्यतालाई जीवनभर व्यवहारमा उतार्ने केशव पराजुली आज भौतिक रूपमा हामीबीच नरहे पनि उहाँले स्थापित गर्नुभएको व्यावसायिक आदर्श, निष्पक्षता, इमानदारी र समर्पणले नेपाली पत्रकारितालाई अझै लामो समयसम्म मार्गदर्शन गरिरहनेछ। नवलपरासीको पत्रकारिताको इतिहास लेखिँदा केशव पराजुलीको नाम सदैव सम्मानका साथ स्मरण गरिनेछ।

प्रकाशित मिति: २०२६-०७-०४ , समय : १५:४६:५३ , १ घन्टा अगाडि