रुपन्देही जिल्ला अदालतमा एक वर्षमा चार हजार १०९ मुद्दा फछ्र्यौट

तीन हजार ५३३ मुद्दा बाँकी

रुपन्देही खबर , ५५  पटक हेरिएको

भैरहवा, असार २१


जिल्ला अदालत रुपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा जिम्मेवारी सरी आएका कुल सात हजार ६४२ मुद्दामध्ये चार हजार १०९ वटा मुद्दा फछ्र्यौट गरेको जनाएको छ। अदालतले सार्वजनिक गरेको असार १७ गतेसम्मको प्रगति विवरणअनुसार हाल तीन हजार ५३३ मुद्दाको फैसला हुन बाँकी रहेको छ।

जिल्ला अदालत रुपन्देहीका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका तीन हजार २४० र चालु आर्थिक वर्षमा नयाँ दर्ता भएका चार हजार ४०२ गरी कुल सात हजार ६४२ मुद्दाको जिम्मेवारी अदालतमा रहेको थियो। तीमध्ये चार हजार १०९ मुद्दा टुंग्याइएको र बाँकी मुद्दा प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो।

प्रमुख न्यायाधीश बस्नेतले बढ्दो मुद्दाको चापका बाबजुद उपलब्ध जनशक्ति र स्रोत–साधनको अधिकतम उपयोग गर्दै छिटो, छरितो, पारदर्शी, जवाफदेही तथा प्रभावकारी ढङ्गले न्याय सम्पादन गर्न अदालत प्रतिबद्ध रहेको बताउनुभयो। न्यायिक सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखी सेवाग्राहीमैत्री वातावरण निर्माणका लागि निरन्तर प्रयास भइरहेको उहाँको भनाइ छ।

यसैगरी, वरिष्ठ जिल्ला न्यायाधीश धनिश्वर पौडेलले संस्थागत सुधारका विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै न्याय सम्पादनलाई थप प्रभावकारी, सेवामुखी र विश्वसनीय बनाउने दिशामा अदालत सक्रियतापूर्वक लागिरहेको बताउनुभयो। न्यायिक प्रक्रियामा पारदर्शिता र विश्वास अभिवृद्धि गर्न अदालतले सुधारका कार्यक्रमलाई निरन्तरता दिएको उहाँले उल्लेख गर्नुभयो।

अदालतका स्रेस्तेदार विमल रेग्मीका अनुसार सूचना प्रविधिमा आधारित प्रणालीको प्रयोगलाई विस्तार गर्दै न्याय सम्पादनसँग सम्बन्धित अभिलेखीकरण, मुद्दा व्यवस्थापन तथा प्रशासनिक प्रक्रियालाई थप सरलीकृत र व्यवस्थित बनाइएको छ। प्रविधिको प्रयोगले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुगेको उहाँले बताउनुभयो।

अदालतले वार्षिक लक्ष्य हासिल गर्न न्यायाधीश, कर्मचारी तथा सम्बन्धित सबै पक्षबीच समन्वयात्मक रूपमा काम भइरहेको जनाएको छ। मुद्दाको चाप निरन्तर बढ्दै गए पनि प्रभावकारी व्यवस्थापन, सूचना प्रविधिको उपयोग र संस्थागत सुधारमार्फत न्याय सम्पादनलाई थप गुणस्तरीय बनाउने प्रयास जारी रहेको अदालतको भनाइ छ।

प्रकाशित मिति: २०२६-०७-०५ , समय : १३:१९:०४ , २ घन्टा अगाडि