रुपन्देही खबर , ४५ पटक हेरिएको
प्रकाशित मिति: २०२६-०७-१० , समय : २३:४५:५९ , २ घन्टा अगाडि
भैरहवा, असार २६
रुपन्देहीको कञ्चन गाउँपालिका–२ कटैयामा प्रहरीले ७ केजी १०० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा घरको पूजा कोठामा लुकाइराखिएको गाँजा बरामद भएपछि प्रहरीले घरधनीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रबार साँझ करिब ६ बजे कटैया निवासी ४८ वर्षीय पाचु मल्लाहको घरमा गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रुद्रपुरबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी मल्लाहको घरमा खानतलासी गर्दा पूजा कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा ७ केजी १०० ग्राम गाँजा बरामद गरेको जनाएको छ। बरामद गाँजासहित मल्लाहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा गाँजा घरभित्र लुकाएर राखिएको अवस्थामा फेला परेको हो। बरामद गाँजा व्यक्तिगत प्रयोगका लागि वा कारोबारका लागि राखिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। गाँजाको स्रोत र यसमा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषय पनि अनुसन्धानको दायरामा राखिएको प्रहरीले जनाएको छ।
घटनाको प्रारम्भिक अनुसन्धान इलाका प्रहरी कार्यालय रुद्रपुरले गरेको भए पनि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय सालझण्डीमा पठाइएको छ।
पक्राउ परेका मल्लाहविरुद्ध लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै सूचनाका आधारमा छापा, नियमित चेकजाँच तथा विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। प्रहरीले लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण र कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट गर्दै यस्ता गतिविधिबारे सूचना भए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-०७-१० , समय : २३:४५:५९ , २ घन्टा अगाडि