युवामा सञ्चार र नेतृत्व सीप विकासका लागि ‘तेजस स्पिकअप क्याम्प’ सम्पन्न

रुपन्देही खबर , ४३  पटक हेरिएको

भैरहवा, असार ३०

युवा पुस्तामा प्रभावकारी सञ्चार, सार्वजनिक वक्तृत्वकला, एन्करिङ, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले जिनियस कम्प्युटर इन्स्टिच्युटको सहकार्यमा सञ्चालन गरिएको ‘तेजस स्पिकअप क्याम्प’ सम्पन्न भएको छ। क्याम्पमा सहभागी प्रशिक्षणार्थीलाई लिडरसिप स्किल्स डेभलपमेन्ट ट्रेनिङ (एलएसडीटी) को २०५औँ एपिसोडका अवसरमा आयोजित एक कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो।

क्याम्पमा सहभागीहरूलाई सार्वजनिक रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुने कला, प्रभावकारी सञ्चार, भाषण, एन्करिङ, आवाजको प्रभावकारी प्रयोग, शारीरिक हाउभाउ, मञ्च प्रस्तुतीकरण तथा नेतृत्व विकाससँग सम्बन्धित व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

प्रशिक्षण अवधिभर अभ्यासमूलक प्रस्तुति, समूहगत गतिविधि र अन्तरक्रियात्मक सत्रमार्फत सहभागीहरूले आफ्नो सञ्चार तथा नेतृत्व क्षमतामा सुधार गर्ने अवसर प्राप्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि विजय पाण्डेयले यस्ता सीपमूलक कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, प्रभावकारी सञ्चार कला र सकारात्मक सोचको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले प्रशिक्षणबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई दैनिक जीवन तथा व्यावसायिक क्षेत्रमा व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

यस्तै गरि कार्यक्रम संयोजक रामजीत धवलले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि व्यक्तित्व तथा क्षमता विकाससम्बन्धी यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

यस्तै गरि  आयोजक तथा प्रशिक्षक कृष्णम बरनवालले विद्यार्थीहरूको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस्ता प्रशिक्षण कार्यक्रम न्यूनतम व्यवस्थापन खर्चमा वा सम्भव भएसम्म निःशुल्क सञ्चालन गर्ने प्रयास भइरहेको बताउनुभयो। उहाँले ‘तेजस स्पिकअप क्याम्प’लाई आगामी दिनमा विभिन्न विद्यालय, कलेज तथा शैक्षिक संस्थासम्म विस्तार गर्दै बढीभन्दा बढी विद्यार्थीलाई सार्वजनिक वक्तृत्व, सञ्चार सीप, एन्करिङ तथा नेतृत्व विकासका अवसर उपलब्ध गराउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, अभिभावक, प्रशिक्षार्थी तथा एलएसडीटी परिवारको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको उज्ज्वल भविष्य, निरन्तर प्रगति तथा सफलताको शुभकामना व्यक्त गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०२६-०७-१४ , समय : ०७:५१:४७ , १ घन्टा अगाडि