सुपर ओभरमा यूएईसँग पराजित, नेपालको फाइनल यात्रा रोकियो

रुपन्देही खबर , ४०  पटक हेरिएको

काठमाण्डाै ,साउन १

एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल यूएईसँग ‘सुपर ओभर’ मा पराजित भएको छ । मलेशियाको बायोमास ओभलमा ‘सुपर ओभर’ मा नेपालले दिएको ७ रनको लक्ष्य यूएईले ३ बलमा भेटायो ।

यसअघि यूएईले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १०० रन बनाएपछि खेल ‘सुपर ओभर’ मा गएको थियो । नेपालकी अनु कडायतले २० रन बनाइन् । यूएईकी वैष्णवी महेशले ३ विकेट लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले १९ ओभर ५ बलमा १०० रन बनाउँदै सबै विकेट गुमाएको थियो । यूएईकी मेहुल प्रणव कलकर्णीले ३० रन बनाइन् । नेपालका रिया शर्मा र अनु कडायतले ३/३ विकेट लिए ।

अब यूएईले फाइनलमा उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ । इन्डोनेशियालाई ३१ रनले हराउँदै थाइल्यान्ड उपाधि नजिकै पुगेको हो ।सेमिफाइनलमा पुग्ने ४ वटै टोली एशिया कपमा छनोट भएका छन् । नेपालले क्वाटरफाइनलमा जापानलाई ९ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

प्रकाशित मिति: २०२६-०७-१७ , समय : १९:०९:५४ , २ घन्टा अगाडि