बालसुधार गृहको अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको ४ बुँदे निर्देशन

रुपन्देही खबर , ३१  पटक हेरिएको

भैरहवा,  साउन ३

प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देशभरका बालसुधार गृहहरूको अवस्था सुधार गर्न सरकारलाई ४ बुँदे निर्देशन दिएको छ । बालसुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल गर्दै समितिले भौतिक पूर्वाधार सुधार, क्षमता अभिवृद्धि र पोषण व्यवस्थापनमा तत्काल काम अघि बढाउन निर्देशन दिएको हो ।

समितिकी सभापति समीक्षा बास्कोटाले सुधार गृहहरूमा बढ्दो चाप र सीमित पूर्वाधारलाई ध्यानमा राख्दै तत्काल वैकल्पिक प्रबन्ध मिलाउन महिला तथा गृह मन्त्रालयलाई निर्देशन दिनुभयो । यसैगरी रुपन्देहीको बालसुधार गृह साँघुरो र अनुपयुक्त देखिएकाले त्यसलाई तत्काल जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा स्थानान्तरण गर्न भनिएको छ ।

समितिले बालबालिकाले पाउँदै आएको दैनिक ’सिधा’ र रकम उनीहरूको उमेर र शारीरिक आवश्यकताअनुसार अपर्याप्त रहेकाले पोषण र खाद्य व्यवस्थापनमा तत्काल सुधार गर्नसमेत सरकारलाई सचेत गराएको छ । उपसमितिको प्रतिवेदनअनुसार देशभरका १० वटा बालसुधार गृहको कुल क्षमता १ हजार ८५ जनाको भए पनि अहिले १ हजार १९५ जना बालबालिका आश्रित छन् । पुराना र कारागारजस्ता भौतिक संरचनामा सञ्चालित ती सुधार गृहहरूमध्ये ४ वटामा मात्र विद्यालयको व्यवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: २०२६-०७-१९ , समय : २०:५१:२० , १५ घन्टा अगाडि