रुपन्देही खबर , ८३ पटक हेरिएको
परासी, साउन ४
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १० मंझरिया चोकबाट २४० पिस प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–६ लङ्गडीपाकड निवासी २६ वर्षीय विश्वजित गिरी र सोही गाउँपालिका–६ रगरगञ्ज निवासी ३६ वर्षीय दिनेश केवट रहेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार गए राति करिब ९ः२५ बजेको समयमा पश्चिम नवलपरासी क्षेत्रमा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा विशेष टोलीले रामग्राम नगरपालिका–१० स्थित मंझरिया चोकमा निगरानी बढाएको थियो। सो क्रममा उत्तरतर्फबाट आउँदै गरेको यूपी–५६ एच–१०३३ नम्बरको भारतीय मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूको साथमा रहेको सेतो झोलाभित्रबाट लागुऔषध बरामद भएको हो।
प्रहरीले बरामद गरेको लागुऔषधमा ८० पिस बुप्रेनोर्फिन, ८० पिस नाइट्रोजेपाम र ८० पिस डाइजेपाम रहेका छन्। तीनै प्रकारका औषधि गरी कुल २४० पिस लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पश्चिम० पठाइएको छ। उनीहरूमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सीमावर्ती क्षेत्र हुँदै भारतबाट नेपालतर्फ लागुऔषध भित्र्याउने तथा विभिन्न जिल्लामा वितरण गर्ने गतिविधि बढ्दै गएको सूचनाका आधारमा विशेष निगरानी र अपरेशन सञ्चालन हुँदै आएको छ। सोही अभियानअन्तर्गत प्राप्त सूचनाको विश्लेषणपछि मंझरिया चोकमा विशेष निगरानी राखिएको थियो।
अनुसन्धानका क्रममा बरामद लागुऔषधको स्रोत, गन्तव्य तथा यस कारोबारमा संलग्न अन्य व्यक्ति वा सञ्जालबारे खोजबिन भइरहेको प्रहरीले जनाएको छ। घटनामा थप व्यक्तिको संलग्नता देखिए कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।
लुम्बिनी प्रदेश प्रहरीले सीमावर्ती जिल्लामा लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै विशेष टोली परिचालन, सवारी साधनको आकस्मिक जाँच तथा सूचनामा आधारित अपरेशनलाई निरन्तरता दिएको जनाएको छ। प्रहरीले लागूऔषधको ओसारपसार, बिक्री–वितरण वा सेवनसम्बन्धी कुनै पनि सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-०७-२० , समय : १०:३३:४९ , १९ घन्टा अगाडि