रुपन्देही खबर , ४७ पटक हेरिएको
भैरहवा, साउन ६ —
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरबाट प्रहरीले ४३५ एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१३ निवासी २२ वर्षीय प्रवेश घर्ती मगर र सोही स्थानका १७ वर्षीय विस्मत घर्ती मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार दिउँसो वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर–८ अञ्चलपुर क्षेत्रमा नियमित सवारी चेकजाँचका क्रममा रा ७ प ७००७ नम्बरको स्कुटर रोकी जाँच गर्दा स्कुटरमा सवार दुवै जनाको साथबाट लागुऔषध बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले बरामद गरेको लागुऔषधमा डाइजेपाम इन्जेक्सन (२ एमएल) १४५ एम्पुल, प्रोमेथाजिन एचसीएल इन्जेक्सन (२ एमएल) १४५ एम्पुल तथा बुप्रेनोर्फिन इन्जेक्सन (२ एमएल) १४५ एम्पुल रहेका छन्। यसरी तीनै प्रकारका गरी कुल ४३५ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट तीन थान सिरिन्ज, दुई थान टचस्क्रिन मोबाइल फोन तथा स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा लागुऔषध ओसारपसार वा कारोबारसँग सम्बन्धित विषयमा अनुसन्धान केन्द्रित गरिएको छ। बरामद लागुऔषध कहाँबाट ल्याइएको थियो, कसलाई पुर्याउने तयारी थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रुपन्देही प्रहरीले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा नियमित चेकजाँच, विशेष निगरानी तथा सूचनाका आधारमा सञ्चालन गरिएका अभियानलाई तीव्र बनाएको जनाएको छ। विशेषगरी भारतसँग सीमा जोडिएका क्षेत्र र मुख्य सडकमार्गमा लागुऔषध नियन्त्रणका लागि निगरानी बढाइएको प्रहरीको भनाइ छ। साथै घटनासँग सम्बन्धित अन्य व्यक्ति वा सञ्जालको संलग्नता भए/नभएको विषयमा पनि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-२२ , समय : २१:५२:२४ , ४१ मिनेटutes अगाडि