रुपन्देही खबर , ४६ पटक हेरिएको
भैरहवा, साउन ६
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिका–९ नयाँ बसपार्क क्षेत्रबाट एक युवकलाई एक थान रिभल्वर र ६ राउण्ड गोलीसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–९ निवासी २६ वर्षीय रेशम तुङसिङ मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार साउन ५ गते विशेष सूचनाका आधारमा नयाँ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका मगरलाई नियन्त्रणमा लिई सोधपुछ तथा कानुनबमोजिम खानतलासी गरिएको थियो। प्रारम्भिक खानतलासीका क्रममा उनको साथबाट रिभल्वरको एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा मगरले आफ्नो स्थायी ठेगानामा रिभल्वर लुकाएर राखेको स्वीकार गरेपछि प्रहरी टोली उनको साथमा मकवानपुरस्थित निवास पुगेको थियो। त्यहाँबाट एक थान रिभल्वर र थप पाँच राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। यससँगै घटनामा एक थान रिभल्वर र कुल ६ राउण्ड गोली बरामद भएको हो।
प्रहरीका अनुसार बरामद गरिएको हतियार र गोली कहाँबाट ल्याइएको थियो, यसको प्रयोगको उद्देश्य के थियो तथा यसमा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।
पक्राउ परेका मगरविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन ६ गते जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले अवैध हातहतियारको ओसारपसार, भण्डारण तथा प्रयोग नियन्त्रणका लागि विशेष सूचनाका आधारमा निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ। साथै यस्ता गतिविधिबारे कुनै सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रकाशित मिति: २०२६-०७-२२ , समय : २२:४१:२७ , १ घन्टा अगाडि