रुपन्देही खबर , ५७ पटक हेरिएको
काठमाण्डौ ,साउन ८
सरकारले बाँझो जमिन उपयोगका लागि भूमि बैक सञ्चालन गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ ।
लामो समयदेखि उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी शुरु गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार भूमि उपयोग ऐन, २०७६ तथा भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) ले गरेको कानुनी व्यवस्था अनुसार पालिकाले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंकमार्फत उपयोगमा ल्याउन सक्नेछन् ।
यस व्यवस्थाअनुसार जग्गाधनीले आफैं खेती गर्न नसक्ने वा लामो समयसम्म जग्गा प्रयोग नगरेको अवस्थामा स्वेच्छाले आफ्नो जग्गा भूमि बैंकमा सूचीकृत गर्न सक्नेछन् ।
मन्त्रालयका अनुसार यस प्रक्रियाबाट बाँझो जग्गाको उपयोग बढ्नुका साथै कृषि उत्पादनमा वृद्धि, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, खेतीयोग्य जमिनको संरक्षण गर्ने तथा आयातित कृषि उपजमा निर्भरता घटाउने अपेक्षा गरिएको छ ।
देशका विभिन्न भागमा बसाइँसराइ, वैदेशिक रोजगारी र श्रम अभावका कारण हजारौं हेक्टर खेतीयोग्य जमिन बाँझो रहँदै आएको छ । भूमि बैंक सञ्चालन भएपछि यस्ता जग्गालाई पुनः उत्पादनमा जोड्ने र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने सरकारको विश्वास छ ।
प्रकाशित मिति: २०२६-०७-२४ , समय : १०:२०:०८ , १ घन्टा अगाडि