रुपन्देहीमा ७ लाख ६९ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

रुपन्देही खबर , ३८  पटक हेरिएको

भैरहवा, साउन ८

रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब ७ लाख ६९ हजार ४८० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बिहीबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा चोरीपैठारी गरी ल्याइएका सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–६, किशोरपुरबाट करिब २ लाख ४८ हजार ३५० रुपैयाँ बराबरका १०० थान रेडिमेड कुर्ता–सुरुवाल, ५४ थान साडी, ४५ थान लुङ्गी तथा दुई थान साइकल बरामद गरिएको छ।

यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, तेलारपुलबाट लु ५ प ८०६३ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको करिब २ लाख ४२ हजार ३५० रुपैयाँ बराबरको इलेक्ट्रिक अटोको ब्याट्री, २९ थान एन्ड्रोइड मोबाइल डिस्प्ले, मोबाइलका ब्याट्री, चार्जरलगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

गैडहवा गाउँपालिका–६, पुलचोकबाट करिब २ लाख ३९ हजार ७८० रुपैयाँ बराबरका १४४ थान रेडिमेड कुर्ता–सलवार, जिन्स अन्डरवेयर, बालबालिकाका कपडा, सर्ट, टी–सर्ट तथा किराना सामग्री बरामद गरिएको छ।

त्यसैगरी बुटवल उपमहानगरपालिका–१०, चौराहाबाट करिब १२ हजार रुपैयाँ बराबरका सवारी सजावटमा प्रयोग हुने दुई कार्टुन सामग्री, सिद्धार्थनगर–१, बेलहियाबाट ११ हजार रुपैयाँ बराबरका कुर्ता र टप्स, लुम्बिनी सांस्कृतिक नगरपालिका–६, तेनुवाबाट ८ हजार रुपैयाँ बराबरका विभिन्न तरकारी तथा रोहिणी गाउँपालिका–५, तरकुल्लाबाट करिब ८ हजार रुपैयाँ बराबरको सुर्ती र साइकल बरामद गरिएको छ।प्रहरीले भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि जिल्लाभर नियमित चेकजाँच र निगरानीलाई थप कडाइ गरिएको जनाएको छ।

प्रकाशित मिति: २०२६-०७-२४ , समय : १०:५३:४१ , १ घन्टा अगाडि