रुपन्देही खबर , ५४ पटक हेरिएको
बुटवल, साउन ९
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको विशेष प्रहरी टोलीले रूपन्देहीको बुटवल उपमहानगरपालिका–५, विकासपथ क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा रु. ९ लाख ६४ हजार ५० बराबरका विभिन्न लत्ताकपडा बरामद गरेको छ। प्रहरीका अनुसार साउन ८ गते विशेष निगरानीका क्रममा विकासपथ बाट कुर्ता–सुरुवाल १२२ पिस र सुट ६२१ पिस गरी अनुमानित रु. ८ लाख ६५ हजार मूल्य बराबरका कपडा बरामद गरिएको थियो।
यस्तै, साउन ९ गते सोही स्थानमा गरिएको अर्को कारबाहीका क्रममा २८३ पिस हाफ कट्टु बरामद गरिएको छ। बरामद हाफ कट्टुको अनुमानित मूल्य रु. ९९ हजार ५० रहेको प्रहरीले जनाएको छ। दुई दिनको संयुक्त कारबाहीमा बरामद गरिएका लत्ताकपडाको कुल अनुमानित मूल्य रु. ९ लाख ६४ हजार ५० पुगेको प्रहरीको भनाइ छ।
बरामद गरिएका सबै लत्ताकपडा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ। साथै, सीमावर्ती क्षेत्रमा हुने भन्सार छली तथा अवैध रूपमा सामान भित्र्याउने गतिविधि नियन्त्रणका लागि विशेष निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०७-२५ , समय : १८:१०:२८ , १ घन्टा अगाडि