भैरहवामा नेपाल–भारत मिडिया कप क्रिकेट प्रतियोगिता सुरु

पत्रकारबीच मैत्री सम्बन्ध सुदृढ गर्ने लक्ष्य

रुपन्देही खबर , ४४  पटक हेरिएको

भैरहवा, साउन १०

नेपाल र भारतका पत्रकारबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल–भारत मिडिया कप क्रिकेट प्रतियोगिता–२०८३ आजदेखि भैरहवामा सुरु भएको छ। लुम्बिनी प्रेस क्लब, नेपालको आयोजनामा तथा रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले गर्नुभएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खानले खेलकुदले दुई देशका नागरिक तथा पत्रकारबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाल–भारतबीच रहेको ऐतिहासिक सम्बन्धलाई पत्रकारिता र खेलकुदमार्फत थप मजबुत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। साथै, भैरहवा अन्तर्राष्ट्रिय गतिविधि सञ्चालन गर्न उपयुक्त स्थल बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई नगरपालिकाको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले नेपाल–भारतबीचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले खेलकुदले मित्रता, सद्भाव र सहकार्यको वातावरण निर्माण गर्ने भएकाले यस्ता प्रतियोगिता निरन्तर आयोजना हुनुपर्ने धारणा राख्नुभयो।

यस्तै गरी लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले नेपाल र भारतबीच रहेको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई जनस्तरमा अझ सुदृढ बनाउन सञ्चारकर्मीबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “खेलकुदको माध्यमबाट दुई देशका पत्रकारबीच मित्रता, भाइचारा, आपसी विश्वास र व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौं। यसले पत्रकारबीचको सम्बन्ध मात्र होइन, नेपालको पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक योगदान पुग्ने विश्वास लिएका छौं।”

कार्यक्रम संयोजक तथा लुम्बिनी प्रेस क्लबका कार्यसमिति सदस्य भीम भण्डारीको स्वागत मन्तव्य रहेको उद्घाटन समारोहको सञ्चालन प्रकाश न्यौपानेले गर्नुभएको थियो।

आयोजकका अनुसार प्रतियोगितामा नेपाल र भारतका पत्रकार, अतिथि तथा दर्शक गरी करिब एक हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताको मुख्य आकर्षण नेपाल र भारतका पत्रकारबीच हुने मैत्रीपूर्ण क्रिकेट खेल रहेको छ।

क्रिकेट प्रतियोगितासँगै उद्घाटन समारोह, पुरस्कार तथा ट्रफी वितरण, पत्रकार तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम तथा नेपाल–भारत सम्बन्ध र सीमावर्ती क्षेत्रका साझा विषयमा सर्वपक्षीय अन्तरक्रिया समेत आयोजना गरिने आयोजकले जनाएको छ।

नेपाल–भारतबीच पत्रकारस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको यस प्रतियोगिताले खेलकुद कूटनीति, व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिने विश्वास आयोजकको छ।प्रतियोगिताको उदघाटन लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीको अध्यक्षतामा सुरु भएको हो।

प्रकाशित मिति: २०२६-०७-२६ , समय : १३:०१:१५ , ४३ मिनेटutes अगाडि