सीमाविवादबीच सुस्ताको बाँध हटाइयो, स्थानीय आक्रोशित

रुपन्देही खबर , ५७  पटक हेरिएको

नवलपरासी,साउन १७

नारायणी नदीको कटानबाट नवलपरासीको सुस्ता गाउँलाई जोगाउनका लागि निर्माण गरेको बाँधलाई भारतीय एसएसबीले भत्काएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

वर्षायाममा नारायणीको भेलले कटान गर्न थालेपछि साउन १५ गते स्थानीयले बोरामा माटो भरेर अस्थायी बाँध निर्माण गरेका थिए । तर, आज (आइतबार) बिहान सादा पोशाकमा आएका १०/१५ जना एसएसबीले उक्त बाँध भत्याएको सुस्ता बचाउँ अभियानका प्रवक्ता रविन्द्र जयसवालले  जानकारी दिनुभयो ।

पहिलो चरणमा नारायणी नदी किनारको एक किलोमिटर क्षेत्रको तटबन्धन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यही एक किलोमिटरमा थप जाेडेर  बनाउन लागिएको दोस्रो चरणको १३२ मिटर क्षेत्रको तटबन्धन कार्यलाई दुइ महिना अघि  एसएसबीले रोकेको थियाे । त्यही रोकेको स्थानबाट नदीको भेल पस्न थालेपछि स्थानीयले अस्थायी बाँध बनाएका हुन् ।  त्यही बाँधलाई एसएसबीले भत्काएकाे स्थानीयबासीले बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका एसपी गोविन्द खातीले अस्थायी रुपमा मानिएको दसगजा क्षेत्र नजिक स्थानीयले थुपारेको माटो भारतीय पक्षले हटाएको जानकारी पाउन साथ सशस्त्र प्रहरीको टोली परिचालन गरी दुवै पक्षलाई सम्झाइएको बताउनुभयो ।

सुस्तामा सीमा स्तम्भ नहुँदा दुवै देशका सुरक्षा अधिकारीको सहमतिअनुसार सिमलको रुखलाई अस्थायी सीमा संकेतका रुपमा मानिँदै आएको छ । भारतीय पक्षले उक्त रुखबाट करिब दुई सय मिटर पर रहेको अर्को रुखभन्दा अगाडि नबढ्न भन्दै आएको छ । अगाडि नबढ्न भनेकै ठाउँ नजिक माटो खसालेर बाँध बाँधेको भन्दै एसएसबीले हटाएको एसपी खातीले  बताउनुभयो । यद्यपि स्थानीयले भने आफूहरुले भारतीय पक्षले भनेको रूखभन्दा करिब ५० मिटर पछाडि नदीको भेल रोक्न माटो राखेको दाबी गरेका छन् । घटनापछि अहिले सिमलको रुख आसपासमा थप हतियारसहित एसएसबीको सुरक्षा टोली परिचालन गरिएको स्थानीयले बताउनुभएकाे छ । तर सशस्त्र प्रहरीका एसपी खातीले भने त्यहाँको अवस्था सामान्य रहेको बताउनुभएको छ ।

नारायणी नदी पारि रहेको सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित सुस्ता गाउँमा करिब ४ सय घरपरिवारको बसोबास छ । गाउँलाई नदीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनले पहिलो चरणमा साढे ११ करोडको लागतमा तटबन्धन कार्य गरिरहेको छ । दोस्रो चरणअन्तर्गत थप १ करोड ४६ लाखको लागतमा निर्माण सुरु गरिएको १३२ मिटर तटबन्धनको काम भारतीय अवरोधका कारण रोकिएको हो ।

सुस्ताको कुल क्षेत्रफल ४० हजार ९८० हेक्टर रहेको छ । भारतीयको अतिक्रमणका कारण हाल सुस्ताबासीले ७ हजार हेक्टर भूमि मात्र उपयोग गर्दै आएका छन् । १४ हजार ५ सय हेक्टर भूमि भारतले अतिक्रमण गरिसकेको र १९ हजार ४८० हेक्टर क्षेलाई विवादित भन्दै प्रयोग गर्न दिइएको छैन । विवादपछि उक्त भूमिमा दुई देशका जिल्लास्थित सुरक्षा प्रमुखहरुको बैठकले उक्त क्षेत्र कसैले पनि उपयोग नगर्ने सहमति गरिएको छ ।

Parasi Patra

प्रकाशित मिति: २०२६-०८-०२ , समय : १८:११:१६ , १ घन्टा अगाडि