रुपन्देही खबर , ७३ पटक हेरिएको
भैरहवा, साउन १८
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ दोगहराबाट मायादेवी गाउँपालिका–८ बसडिलवास्थित ऐतिहासिक शिवमन्दिरमा लोटबम यात्राका लागि प्रस्थान गरेका तीर्थयात्रीहरूको आज सोमबार भैरहवामा फूलवर्षा गर्दै स्वागत तथा सम्मान गरिएको छ । स्थानीय युवा समाजसेवी गोबिन्द यादवको अगुवाइमा आयोजित कार्यक्रममा धार्मिक आस्था, सामाजिक एकता र साम्प्रदायिक सद्भावको सन्देश दिइएको हो ।
हरेक वर्ष साउन महिनाको सोमबार आयोजना हुने लोटबम यात्रामा सहभागी तीर्थयात्रीहरूलाई आज बिहान भैरहवामा फूलवर्षा गर्दै शुभकामना दिइएको थियो। कार्यक्रममा सिद्धार्थनगर–४ का विभिन्न समुदायका स्थानीयवासी, समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका आयोजकका अनुसार सिद्धार्थनगर–४ बाट निस्किएका भक्तजनहरू मायादेवी गाउँपालिका–८ स्थित बसडिलवाको ऐतिहासिक शिवमन्दिरमा पुगेर जल अर्पण तथा पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ । यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै तीर्थयात्रीहरूलाई सम्मानपूर्वक स्वागत गरिएको हो।
कार्यक्रममा बोल्दै स्थानीय सिद्धिक अलीले समाजसेवी गोबिन्द यादवले धार्मिक कार्यक्रमलाई कुनै एक समुदायमा सीमित नराखी सबै समुदायलाई सहभागी गराउँदै आएको बताउनु भएको छ । उहाका अनुसार केही दिनअघि पनि यादवको पहलमा सिद्धार्थनगर–४ का स्थानीयवासीलाई एम्बुलेन्ससहित १० वटा बसमार्फत त्रिवेणीधाम धार्मिक यात्रामा पठाइएको थियो । हिन्दु समुदायका भए पनि यादवले मुस्लिम समुदायलाई समान रूपमा सहभागी गराएर सामाजिक सद्भाव कायम गर्न भूमिका खेलेको उहाको भनाइ छ । उहाले धार्मिक तथा सामाजिक कार्यमार्फत समुदायबीच विश्वास र सहकार्य बढाउन यस्ता अभियान आवश्यक रहेको उल्लेख गर्नु भयो ।
यस्तै गरी युवा समाजसेवी संस्था सिद्धार्थनगर–४ का अध्यक्ष रोशनबहादुर थापाले प्रत्येक वर्ष साउन महिनाको सोमबार स्थानीयवासीले लोटबम यात्रा गर्दै बसडिलवास्थित शिवमन्दिर पुग्ने परम्परा रहेको जानकारी दिनु भयो । उहाले पछिल्लो समय विभिन्न स्थानमा सामाजिक तथा जातीय विभाजनका विषय उठिरहेका बेला सिद्धार्थनगर–४ मा भने हिन्दु र मुस्लिम समुदायले संयुक्त रूपमा तीर्थयात्रीलाई फूलवर्षा गरेर स्वागत गर्नु सकारात्मक उदाहरण भएको बताउनु भयो ।
उहाका अनुसार कार्यक्रम सफल बनाउन समाजसेवी गोबिन्द यादवले समन्वयात्मक भूमिका निर्वाह गर्नु भएको छ । स्थानीयस्तरका धार्मिक, सामाजिक तथा मानवीय गतिविधिमा यादवले निरन्तर सहयोग गर्दै आएको र सबै समुदायलाई साथमा लिएर अघि बढ्ने प्रयास गरेको थापाले बताउनु भयो ।
यस्तै गरी युवा समाजसेवी संस्थाका कोषाध्यक्ष अमिर खानले गोबिन्द यादवको पहलमा हरेक वर्ष लोटबम यात्रा तथा स्वागत कार्यक्रम आयोजना हुँदै आएको जानकारी दिनु भयो । यस्ता कार्यक्रमले समुदायबीच भाइचारा, पारस्परिक सम्मान र धार्मिक सहिष्णुता अभिवृद्धि गर्न सहयोग पु¥याएको उहाको भनाइ छ । आगामी दिनमा पनि सबै धर्म, जाति र समुदायबीच सहकार्यलाई थप सुदृढ बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धार्थनगर–४ का उपाध्यक्ष मोहम्मद सहिदले दोगहराबाट बसडिलवा शिवमन्दिरसम्म सञ्चालन हुने बोलबम तथा लोटबम यात्रा स्थानीय धार्मिक परम्पराका रूपमा प्रत्येक वर्ष आयोजना हुँदै आएको बताउनु भयो । गोबिन्द यादवको अगुवाइमा आयोजित स्वागत कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाले यस्ता गतिविधिले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र एकताको भावना पनि बलियो बनाउने विश्वास व्यक्त गर्नु भयो ।

स्थानीयवासीका अनुसार लोटबम यात्रा धार्मिक अनुष्ठान मात्र नभई सामाजिक एकता र अन्तरधार्मिक सद्भाव प्रवद्र्धन गर्ने अवसरका रूपमा पनि स्थापित हुँदै गएको छ । यस वर्षको कार्यक्रममा हिन्दु र मुस्लिम समुदायको संयुक्त सहभागिताले धार्मिक सहिष्णुता र सामाजिक एकताको सशक्त सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति: २०२६-०८-०३ , समय : २०:२४:५५ , ५० मिनेटutes अगाडि