भदौ १५ सम्म मतदाता नामावली अद्यावधिक गर्ने आयोगको तयारी

रुपन्देही खबर , ५८  पटक हेरिएको

काठमाण्डौ, साउन २१

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मतदाता नामावली सङ्कलनका लागि आवश्यक सहयोग गर्न पालिकालाई आग्रह गरेको छ ।

मन्त्रालयले हिजो सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई मतदाता नामावली सङ्कलन गर्न आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो । निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली अद्यावधिक गर्ने निर्णय गरिसकेको छ ।

आयोगको यही साउन १५ गतेको बैठकले मतदाता नामावली अद्यावधिक गर्ने र त्यसका लागि वडा स्तरमा नै आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । आयोगले वडा स्तरमा नै मतदाता नामावली विस्तृत रूपमा अद्यावधिक गर्नेछ । यस क्रममा स्थानीय पञ्जिकाधिकारीसँग समन्वय गरी विवाह, बसाइसराइ तथा मृत्यु भएका मतदाताको विवरण मतदाता नामावलीसँग भिडाई अद्यावधिक हुनेछ ।

यो कार्य आउँदो भदौ १५ सम्म सम्पन्न गर्ने समय सीमा तय गरिएको छ । आयोगले यो कार्यका लागि आवश्यक व्यवस्था गरिदिन भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।

आयोगको यही आग्रह बमोजिम मन्त्रालयले सबै पालिकालाई मतदाता नामावली सङ्कलन एवम् अद्यावधिक गर्ने कार्यका लागि आवश्यक सहयोग एवम् सहजीकरणका लागि अनुरोध गरेको हो ।

प्रकाशित मिति: २०२६-०८-०६ , समय : ११:४७:१७ , १ घन्टा अगाडि