रुपन्देही खबर , ५८ पटक हेरिएको
भैरहवा, साउन २१
रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब रु. २ लाख १८ हजार ८० बराबरका विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार साउन २० गते जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा अवैध रूपमा भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिइएको हो। बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्क क्षेत्रबाट करिब रु. ५७ हजार ५८० बराबरका फेयर एन्ड लभली क्रिम १,१४० पत्ता, दाँत माझ्ने मन्जन ३६ थान, साडी १२ थान, चिनी ४० केजी, तिलको मिठाई ५० केजी तथा ३० प्याकेट कुरकुरे/लेज बरामद गरिएको छ।
त्यसैगरी, ओमसतिया गाउँपालिका–१ कटैयाबाट करिब रु. १ लाख ६० हजार ५०० बराबरका ३० थान साडी र ७७ थान लेडिज कुर्था–सुरुवाल बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सम्पूर्ण सामान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २०२६-०८-०६ , समय : १३:५७:०२ , १ घन्टा अगाडि