रुपन्देही खबर , ७४ पटक हेरिएको
भैरहवा, साउन ३१
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिद्धार्थनगर, रुपन्देहीले आयोजना गरेको अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता–२०८३ मा आदर्श विद्या मन्दिर इङ्गलिस बोर्डिङ स्कुल प्रथम भएको छ ।
शनिबार भैरहवामा सम्पन्न प्रतियोगितामा न्यू इरा इङ्गलिस बोर्डिङ स्कुल द्वितीय, पश्चिमाञ्चल इङ्गलिस स्कुल तृतीय र टिनी टोल्र्डस् चौथो स्थान हासिल गर्न सफल भएका छन् । भने बुद्ध ज्योति हाइस्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा प्रथम भएको आदर्श विद्या मन्दिर इङ्गलिस बोर्डिङ स्कुलले नगद ५ हजार रुपैयाँ, द्वितीय हुने न्यू इरा इङ्गलिस बोर्डिङ स्कुलले ३ हजार रुपैयाँ, तृतीय पश्चिमाञ्चल इङ्गलिस स्कुलले २ हजार रुपैयाँ तथा सान्त्वना हुने बुद्ध ज्योति हाइस्कुलले १ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल प्राप्त गरेका छन् ।
प्रतियोगिताकै अवसरमा शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई समेत सम्मान गरिएको थियो । पश्चिमाञ्चल इङ्गलिस स्कुलबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईई मा ४ जीपीए हासिल गरेका विद्यार्थी अभिनव उपाध्यायलाई सम्मान गरिएको थियो । त्यस्तै, १०० प्रतिशत नतिजा हासिल गर्न सफल इभिएन इङ्गलिस बोर्डिङ स्कुललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिकको अध्यक्षता तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. लेखजंग थापाले शिक्षा सँगसँगै कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा पहिचानका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले विद्यालय तहबाटै विद्यार्थीलाई आफ्नो मौलिक कला, संस्कृति र परम्परासँग जोड्न सके नयाँ पुस्तामा सांस्कृतिक चेतनाको विकास हुने धारणा राख्नुभयो ।
लोक नृत्य नेपाली समाजको मौलिक पहिचानसँग जोडिएको विषय भएकाले यसको संरक्षणमा विद्यालय तथा विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्नुका साथै विभिन्न समुदायका कला तथा संस्कृतिबारे बुझ्ने अवसरसमेत प्रदान गर्ने बताउनुभयो ।
प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिकले विद्यालयमा नियमित रूपमा सञ्चालन हुँदै आएका अतिरिक्त क्रियाकलापअन्तर्गत लोक नृत्य प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई अध्ययनसँगै कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
“लोक नृत्य पनि हाम्रो पहिचान हो,” अध्यक्ष मल्लिकले भन्नुभयो, “प्रतियोगिताले बालबालिकालाई आफ्नो संस्कृति बुझ्ने मात्र होइन, अरू समुदायका संस्कृति र परम्पराबारे जानकारी लिने अवसर पनि दिएको छ ।”
उहाँले आधुनिक शिक्षासँगै नेपाली समाजका परम्परागत कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा विद्यालयले पनि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । बालबालिकालाई सानै उमेरदेखि संस्कृति र परम्परासँग परिचित गराउन सके मौलिक सम्पदाको संरक्षणमा योगदान पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रम संयोजक प्रदीप मल्लले प्याब्सन सिद्धार्थनगरले विगत चार वर्षदेखि निरन्तर अन्तरविद्यालय लोक नृत्य प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि प्रतियोगितामा पुरस्कारको व्यवस्था थिएन भने यस वर्षदेखि उत्कृष्ट विद्यालयलाई नगद पुरस्कार र मेडल प्रदान गर्ने व्यवस्था गरिएको हो ।
संयोजक मल्लले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले जिल्लास्तरीय प्रतियोगितामा समेत सहभागी हुन पाउने जानकारी दिनुभयो । उहाँका अनुसार प्याब्सन सिद्धार्थनगरअन्तर्गत २६ वटा विद्यालय आबद्ध छन् । तीमध्ये २३ वटा विद्यालयले यस वर्षको लोक नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा सहभागी विद्यार्थीले विभिन्न जातजाति, समुदाय र क्षेत्रका मौलिक लोक नृत्य प्रस्तुत गरेका थिए । विद्यार्थीका प्रस्तुतिमार्फत नेपाली समाजमा विद्यमान विविध कला, संस्कृति, परम्परा र जीवनशैलीको झल्को देखिएको थियो ।
प्याब्सन सिद्धार्थनगरले आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक विकाससँगै कला, संस्कृति, खेलकुद तथा अन्य सिर्जनात्मक गतिविधिलाई प्राथमिकता दिँदै अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ ।
प्रकाशित मिति: २०२६-०८-१६ , समय : १०:४६:४९ , १ घन्टा अगाडि