रुपन्देही खबर , ४ पटक हेरिएको
मणिग्राम, भदौ ७
रूपन्देहीको मणिग्राममा सामाजिक विज्ञान, अनुसन्धान, प्रविधि तथा शैक्षिक अवसरका विविध पक्षमा केन्द्रित दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि सुरु भएको छ । अनुसन्धान व्यवस्थापन समिति, राममणि बहुमुखी क्याम्पस मणिग्रामको आयोजनामा सुरु भएको सम्मेलनमा नेपालसहित भारत, फिलिपिन्स र मलेशियाका विश्वविद्यालय तथा क्याम्पससँग सम्बन्धित अनुसन्धानकर्ता, प्राध्यापक तथा विज्ञहरूको सहभागिता रहेको छ ।
“सामाजिक विज्ञानका उदीयमान दृष्टिकोण तथा शैक्षिक अवसरहरू–उत्कृष्टताको खोजीमा” भन्ने मूल विषयमा आयोजित सम्मेलनको पहिलो दिन नेपाल, भारत र फिलिपिन्सका तीन जना प्राध्यापकले मुख्य वक्ताका रूपमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।
सम्मेलनको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका कार्यबाहक रजिष्ट्रार एवं व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसेले अनुसन्धानको उपयोगमार्फत मुलुकलाई अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले व्यवस्थापनलगायत विश्वविद्यालयका अन्य संकायका शैक्षिक कार्यक्रमलाई थप अनुसन्धानमुखी बनाउन सके नेपाल र नेपालीको भविष्य अझ उज्ज्वल बनाउन सकिने धारणा राख्नुभयो ।
कार्यक्रमका अर्का मुख्य वक्ता भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्रा.डा. अनुराग द्विवेदीले वर्तमान उत्तरआधुनिक समाज र मानव विकासमा समाजशास्त्रीय अनुसन्धानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रविधि, अर्थतन्त्र र भौतिक विकासको उचित सदुपयोग गर्दै समुन्नत र सुखी समाज निर्माणका लागि अनुसन्धानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, फिलिपिन्सको अब्रा स्टेट इन्स्टिच्यूट अफ साइन्सेज एण्ड टेक्नोलोजीका प्राध्यापक डा. एलेक्सिस ए. एन्रिक्वेजले कृत्रिम बुद्धिमत्ता (एआई) ले अवसरसँगै बहुपक्षीय चुनौतीसमेत ल्याएको बताउनुभयो । उहाँले एआईको जिम्मेवार र प्रभावकारी प्रयोगबाट प्राध्यापक तथा विद्यार्थीले अध्ययन, अध्यापन र अनुसन्धानमा महत्वपूर्ण लाभ लिन सक्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेले गर्नुभएको थियो । कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली तथा अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीले सम्मेलनको उद्देश्य, अनुसन्धानको आवश्यकता तथा सामुदायिक क्याम्पसको भूमिकाबारे धारणा राख्नुभएको थियो ।
उद्घाटनपछि भएको पहिलो विशेषज्ञ समूह छलफलमा सृजनात्मक क्षति, वर्तमान अर्थतन्त्रका चुनौती तथा अवसर र कृत्रिम बुद्धिमत्तालगायत विषयमा विज्ञहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए । डा. अशोक भण्डारीको सञ्चालनमा भएको छलफलमा भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका प्रा.डा. अनुराग द्विवेदी, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन प्रा.डा. दिलिप पराजुली र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. रेशम थापा सहभागी हुनुहुन्थ्यो ।
दोस्रो प्यानल डिस्कसनमा स्थानीय उद्योग तथा व्यवसायले अर्थतन्त्रमा पुर्याएको योगदान, तिनको दिगोपनाका चुनौती तथा दक्ष जनशक्ति उत्पादनमा सामुदायिक क्याम्पसको योगदान, वर्तमान चुनौती र सम्भावनाबारे छलफल गरिएको थियो ।
उपप्राध्यापक कृष्णकुमार रेग्मीको सञ्चालनमा भएको उक्त छलफलमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय अध्यक्ष शत्रुघन प्रसाद गुप्ता, विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक नारायणप्रसाद भण्डारी, नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेशप्रसाद अधिकारी, शिवगंगा डेरीका सञ्चालक एवं देवदह नगरपालिकाका पूर्वप्रमुख हिराबहादुर खत्री, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली र एनआईसी एशिया बैंक लुम्बिनी प्रदेश प्रमुख राजन पोखरेलले विज्ञका रूपमा धारणा राख्नुभएको थियो ।
दुवै प्यानल छलफलमा सहभागी प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूले विज्ञहरूसँग विभिन्न विषयमा जिज्ञासा राखेका थिए । सम्मेलनका बीच–बीचमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए ।
अनुसन्धान व्यवस्थापन समितिका सदस्य राजेन्द्र थापाका अनुसार सम्मेलनको दोस्रो दिन भदौ ७ गते नेपाल, भारत, फिलिपिन्स र मलेशियाका विभिन्न विश्वविद्यालय तथा क्याम्पसका अनुसन्धानकर्ताले तयार गरेका ३३ वटा कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनको पहिलो दिन विभिन्न क्याम्पस तथा विश्वविद्यालयबाट २१८ जनाको सहभागिता रहेको सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले जानकारी दिनुभयो ।
सम्मेलनले सामाजिक विज्ञानमा नयाँ अनुसन्धानका दृष्टिकोण, उच्च शिक्षामा अनुसन्धानको प्रभावकारिता, कृत्रिम बुद्धिमत्ताको सम्भावना तथा चुनौती र सामुदायिक क्याम्पसको भूमिकाबारे विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाबीच अन्तर्राष्ट्रियस्तरको संवादको अवसर सिर्जना गरेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०८-२३ , समय : ०९:०७:३८ , १ घन्टा अगाडि