रसुवा बाढी : त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

रासस , ३  पटक हेरिएको

बुधवार त्रिशूलीमा आएको बाढीले क्षतिग्रस्त नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा रहेकाे बजार क्षेत्रका संरचना । तस्वीर : रामहरि न्यौपाने/रासस

काठमाण्डाै,भदौ १०

तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएका छन् । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बेलुकी ६ बजेसम्म विभिन्न ठाउँमा ती शव भेटिएका हुन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा बगेर आएका शवहरू निकाल्ने काम गरिरहेको छ ।

बाढी नारायणगढसम्म आइपुग्दै गर्दा पानीको बहाव खतरा तहमा पुगेको छैन । प्रजिअ अर्यालका अनुसार चितवन यो बाढीका कारण जोखिममा परेको छैन । आमनागरिकलाई नदीमा सामान तान्न नजान आग्रह गर्दै उहाँले शवहरू देखिएमा खबर गर्न आग्रह गर्नुभयो ।

नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख इन्जिनियर सुमित अधिकारीका अनुसार देवघाटमा रहेकाे नारायणी नदीमा बहाव घट्न थालेको छ । यहाँ ९ मिटर कटेपछि खतरा मानिन्छ । ६.८० मिटर पानीको सतह पुगेर घट्न शुरू भएको उहाँले जानकारी दिनुभयो । अब नदीको सतह घट्न थालेकाले खतरा टरेको उहाँको भनाइ छ ।

बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा दिउँसैदेखि गाडी आवागमन रोकिएको छ । पोखरातर्फ जाने गाडीलाई पठाउन शुरू गरिएको छ । पृथ्वी राजमार्गको धादिङमा सडक अवरुद्ध भएकाले त्यसतर्फ जाने गाडी रोकिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताउनुभयो । नारायणी नदीमा बाढी आउन सक्ने भन्दै आज दिउँसो नदी आसपासका विद्यालय बन्द गरिएका थिए । नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरेको थियो ।

प्रकाशित मिति: २०२६-०८-२६ , समय : २१:५३:२२ , २ घन्टा अगाडि