ग्रामीण वाल्मीकि साकोसको ३३औँ साधारण सभा सम्पन्न

, ९९ लाखभन्दा बढी खुद नाफा

पप्पु रेग्मी , ३१  पटक हेरिएको

बर्दघाट,असोज २७

ग्रामीण वाल्मीकि बचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट नगरपालिका–७ जिमिरेभारकाे ३३ओैं साधारणसभा शनिबार जिमिरेभारमा सम्पन्न भएको छ । गत आइतबारदेखि विभिन्न सेवा केन्द्रमा इकाईगत रूपमा सुरु भएको साधारण सभा शनिबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमसँगै सम्पन्न भएको हो। संस्थाले आफ्ना ६ वटा इकाईमार्फत साधारण सभा सञ्चालन गरेको थियो।
संस्थाका उपाध्यक्ष लक्ष्मण प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको अन्तिम इकाईको सभामा ज्ञवालीले विभिन्न चुनौतीका बीच पनि शेयर सदस्यलाई लाभांश वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले असल कारोबार गर्ने शेयर सदस्यलाई धितो मूल्याङ्कनका आधारमा सहुलियत ब्याजदरमा एक करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो ।
सभामा संस्थाकी सचिव राधा ढकालले आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरणसँगै चालु आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। त्यसैगरी, कोषाध्यक्ष मुरलीकृष्ण खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराउनुभयो।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा संस्थाले ८ करोड ५९ लाख ३१ हजार ३ सय १८ रुपैयाँ आम्दानी गरेको छ भने ७ करोड १५ लाख २८ हजार ५ सय ५२ रुपैयाँ खर्च गरेको छ। यसबाट संस्थाले १ करोड ४४ लाख २ हजार ७ सय ६५ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ। ऋण सुरक्षण कोषमा ४४ लाख ४२ हजार ९ सय रुपैयाँ छुट्याएपछि संस्थाको खुद नाफा ९९ लाख ५९ हजार ८ सय ६३ रुपैयाँ कायम भएको जनाइएको छ।
लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका सल्लाहकार बसन्त कुमार रेग्मी, गणेश पोख्रेल लगायतले सहकारीको ईतिहास, प्रगति, सदस्यको हित र संस्थागत विकासका विषयमा शुभकामना मन्तव्य राख्नुभएको थियो। सहभागी शेयर सदस्यहरूले विभिन्न जिज्ञासा तथा सुझावसमेत प्रस्तुत गरेका थिए।

ग्रामीण वाल्मीकि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा ९९ लाख ५९ हजार ८ सय ६३ रुपैयाँ खुद नाफा आर्जन गरेको हो । संस्थाको यस ३३औँ वार्षिक साधारण सभामा प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदनले यस्तो देखाएको हो ।

पश्चिम नवलपरासी जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा हाल ६ हजार ९ सय ६९ महिला, ५ हजार १६ पुरुष र २ संस्थागत गरी कुल ११ हजार ९ सय ८७ जना शेयर सदस्य आबद्ध छन्। त्यस्तै, संस्थामा २ हजार ३ सय २ जना बाल सदस्यसमेत आबद्ध रहेको व्यवस्थापक अनन्त पाण्डेले जानकारी दिनुभयो।

सञ्चालक समिति सदस्य तथा शिक्षा उपसमिति संयोजक बोध प्रसाद पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव राधा ढकालले गर्नुभएको थियो ।

साधारण सभाका अवसरमा उत्कृष्ट शेयर सदस्य, बचतकर्ता, व्यवसायी, बाल सदस्य, ज्येष्ठ सदस्य, स्मार्ट सदस्य, कर्मचारी तथा सेवा केन्द्रलाई विभिन्न विधामा नगद पुरस्कार र प्रशंसापत्रसहित सम्मान गरिएको थियो। साथै, लक्की ड्रमार्फत १७ जना सेयर सदस्यहरूलाई उपहार प्रदान गरिएको संस्थाकाे आर्थिक प्रशासन प्रमुख बिजय ज्ञवालीले जानकारी दिनुभयो।

प्रकाशित मिति: २०२६-१०-१३ , समय : १०:२६:४० , २४ मिनेटutes अगाडि