बिवेक बिश्वकर्मा , ६९२ पटक हेरिएको
भैरहवा, असोज ९
रुपन्देहीको ओमसतिया गाउँपालिकाले विपन्न नागरिकहरुको नि:शुल्क स्वास्थ्य बिमा शुरु गरेको छ । गाउँपालिकाले हाल सम्म ७ सय जना विपन्न नागरिकहरुको स्वास्थ्य बिमा गरिसकेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
गाउँपालिका भित्र रहेका विपन्न नागरिकहरुलाई वडा कार्यालयले सिफारिस दिने र सोहि सिफारिसको आधारमा स्वास्थ्य बिमा गर्न सुरु गरेको ओमसतिया गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख दिपक ज्ञवालीले जानकारी दिनु भएको छ ।
निर्वाचित भएको एक सय दिन पुरा हुदै गर्दा गरिब, विपन्न र जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य विमाका साथै स्वास्थ्य उपचारमा उल्लेखनिय सुधार गरिएको गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु)ले जानकारी दिनु भएको छ ।
गाउँपालिकाले बसन्तपुर स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक कक्ष सञ्चालन गर्ने तयारी गर्नुका साथै प्रभावकारी स्वास्थ्य सेवा सुरु गरेको उहाले बताउनु भएको छ । प्रसुती गृह सहितको सेवा रहेको बसन्तपुर स्वास्थ्य केन्द्रलाइ अझै व्यवस्थित बनाउदै लैजाने उहाको भनाइ छ ।
गाउँपालिकाले महिला स्वयम सेविकाहरुलाई समेत नि:शुल्क विमा गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष यादवले बताउनु भएको छ ।
उहाका अनुसार– गर्भवती र सुत्केरी महिलाका लागि समेत गाउँपालिकाले नि:शुल्क पोषण खानाको व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण काम गरिरहेको ओमसतियाले शिक्षा क्षेत्रको समस्या पहिचान गरि सुधार अभियान शुरु गरेको छ । उपाध्यक्ष सुनिता चौधरीको संयोजकत्वमा कार्यपालिका स्तरिय शिक्षा सुधार समिति गठन गरिएको छ ।
सामुदायिक विद्यालयमा शिक्षा सुधार, भौतिक पुर्वाधारको विकास, अपुग शिक्षक भएका विद्यालयहरु र गुणस्तरिय शिक्षाको विकास गर्न शिक्षा सुधार समितिलाई जिम्मा तोकिएको छ । समितिले दिएको प्रतिवेदनका आधार गाउँपालिकाले आफ्ना मातहतका विद्यालयमा काम गर्न शुरु गरेको गाउँपालिकाको सुचना शाखाले जनाएको छ । विद्यार्थी दिवा खाजाको व्यवस्था विद्यालयनै गरेको गाउँपालिकाको शिक्षा समितिले जनाएको छ ।
गाउँपालिकाको भु–परिषद बैठकले जग्गालाई वर्गिकरण गरि आवासीय,कृषि र व्यवसायी क्षेत्र बर्गिकरण गरेको छ । जननिर्वाचित जनप्रतिनिधिहरुको एक सय दिनको उपलब्धिका विषमा जानकारी दिदै गाउँपालिकाले कर्मचारी सुधार अभियान सञ्चालन गरिएको छ ।
गाउँपालिका भित्र विभिन्न शाखामा कार्यरत कर्मचारीलाई जनताको पक्षमा काम गर्न कडारुपमा निर्देशन दिएको गाउँपालिका अध्यक्ष यादवले बताउनु भएको छ । उहाले काम नगर्ने र सेवाग्राही जनतालाई दु:ख दिने कर्मचारीलाई तुरुन्त कार्यवाही गरिने पनि जानकारी दिनु भएको छ ।
महिला तथा बालबालिका पक्षमा समेत गाउँपालिकाले बजेट विनियोजित गरि उनिहरुको शिक्षा, स्वास्थ्य र विभिन्न सिपमुलक तालिम शुरु गरेको गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताउनु भएको छ । जिल्लाको नमुना गाउँपालिका बनाउने योजनाका साथ अगाडी बढेको गाउँपालिकाले वडा स्तर देखि सुधार अभियान सूरु गरेको छ ।
शिक्षा, स्वास्थ्य, रोजगार, कृषि र पुर्वाधार विकासमा एकमतका साथ अगाडी बढेको वडा नं. ५ का वडा अध्यक्ष मदन पोख्रेलले जानकारी दिनु भएको छ । जनताको जिवन स्तर माथि उठाउने र समृद्ध ओमसतियाको परिकल्पनाका साथ जनप्रतिनिधिहरु निरन्तर अगाडी बढेको पोख्रेलको भनाई रहेको छ ।
प्रकाशित मिति: २०२२-०९-२५ , समय : १८:०८:१२ , २ वर्ष अगाडि