मानव बेचबिखन कार्यमा संलग्न १ जना प्रतिबादी नवलपरासीबाट पक्राउ

भारत हुंदै कुबेत लैजान लागेका ४ युबतीहरुको उद्धार

उर्मिला यादव यात्री , ३०२  पटक हेरिएको

नवलपरासी, असोज १०

जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले मानव बेचबिखन कार्यमा संलग्न १ जना प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला जाजरकोट छेडाघाट न.पा. वडा नम्बर १२ जन्म घर भई हाल बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नम्बर ६ ढकेना स्थायी घर भई नवलपरासी वर्दघाट नगरपालिका वडा नम्बर ४ वाढीपिडित बस्ने वर्ष ३५ को गोरख दमाई रहेका छ्न ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार काभ्रे रुप्ची गा.पा. वडा नं. ५ सिसाखानी गाउँ बस्ने २७ बर्षिय महिला, जिल्ला सिन्धुली नेत्रकाली वर्ष २० की महिला र जिल्ला काभ्रे तेमाल गा.पा. वडा नं २ चुँगा गाउँ बस्ने वर्ष २१ की महिला र जिल्ला धनकुटा महालक्ष्मी न.पा. वडा नं. ८ आन्द्रुङ्ग गाउँ बस्ने २३ बर्षकी महिला गरी ४ जनालाई ७ गते साझको समयमा नवलपरासीको पाल्हिनन्दन गा.पा. वडा नं. १ महेशपुर स्थित नेपाल भारत सिमाना नजिक माईती नेपाल र आफन्त नेपाल समेतको सहयोगमा अबैध रुपमा भारतको बाटो हुदै कुवेत लैजान लागेको अबस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत समेतको प्रहरी टोलीले उद्धार गरि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न प्रतिवादी गोरख दमाई लगायतका ब्यक्तिहरुले राम्रो पैसा कमाई हुन्छ, १ पैसा पनि खर्च लाग्दैन भनि निजहरुलाई लयाई फकाई सीमा नाका पार गराउने क्रममा प्रतिबादीलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राखिएको छ । पक्राउ परेका दमाईलाइ जिल्ला अदालत नवलपरासीबाट ५ दिन म्याद थप गरि अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न अन्य मानिसहरुको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत भोजराज पाण्डेयले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-०९-२६ , समय : १२:५५:४३ , २ वर्ष अगाडि