रुपन्देही खबर , २९२ पटक हेरिएको
काठमाडौं, कार्तिक २३
गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुलाई बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिनु भएको छ ।
उहाले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई भन्नु भएको छ। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएको उहाको सचिवालयले जनाएको छ ।
गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिनु भएको छ । उहाले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्ने बताउनु भएको छ ।
गएराति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । उहाले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारमा समवेदना व्यक्त गर्नु भएको छ ।
प्रकाशित मिति: २०२२-११-०९ , समय : १२:०७:२१ , २ वर्ष अगाडि