रुपन्देही-३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी

रुपन्देही खबर , ८१४  पटक हेरिएको

भैरहवा, मङ्सिर १०

रुपन्देही-३ बाट राप्रपाका वरिष्ठ नेता दिपक बोहरा विजयी हुनु भएको छ । गृहमन्त्री बालकृष्ण खाण सहित २२ जना उम्मेदवार रहेका यो क्षेत्रमा ३६ हजार सात सय १७ मत ल्याई बोहरा विजयी हुनु भएको हो । खाणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधि सभामा क्लिन स्विप भएको छ ।

सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा उम्मेदवार बन्नु भएको कांग्रेसका खाण ३४ हजार ३६ मत ल्याउनु भएको छ् भने एमाले, राप्रपा र जसपाको तालमेलबाट उम्मेदवारी दिनु भएको बोहरा दुई हजार ६ सय ८१ मतले विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिनु भएको छ ।

रुपन्देहीको पाँच क्षेत्रमध्ये सबै भन्दा ढिलो क्षेत्र नम्बर ३ को मतगणना भएको छ । सबैको चासोको विषयमा रहेको यो क्षेत्रमा ९३ हजार ६ सय ६७ जनाले मतदान गरेका थिए ।

३६ वटा वडा रहेको रुपन्देही ३ मा सुरुवाती चरणबाटै खाणले अग्रता कायम गरे पनि शुक्रबारदेखि उहा पछाडि पर्दै गैरहनु भएको थियो । २०७४ को चुनावमा कांग्रेससँगै तालमेल गरी उम्मेदवार बन्नु भएको बोहरा अहिले कांग्रेसकै उम्मेदवारलाई हराउनु भएको हो ।

यस्तै, प्रदेशसभा २ तर्फ १६ हजार ३ सय ९४ मतका साथ एमालेका तुलसी चौधरी विजयी हुनु भएको छ । तीन दलीय तालमेलबाट उम्मेदवार बन्नु भएको चौधरी दुई सय एक मतान्तरले विजयी हुनु भएको हो । उहालाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकै राम चन्द्र ढकालले पछाइ रहनु भएको थियो । ढकालले १६ हजार एक सय ९३ मत ल्याउनु भएको छ । खसेको ४९ हजार पाँच  सय तीन मतमध्ये दुई  हजार १ सय ५२ मत बदर भएको थियो ।

१५ पदका लागि २ सय ३ जनाको उम्मेदवारी परेको रुपन्देहीको सबै क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रुपन्देहीमा प्रतिनिधी सभामा कोही पनि निर्वाचित हुन सकेनन । क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरे निर्वाचित हुनु भएको हो।

 

प्रकाशित मिति: २०२२-११-२६ , समय : १८:१६:०१ , २ वर्ष अगाडि