मदिरा व्यवसायी संघ भैरहवा रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी सम्पन्न

रुपन्देही खबर , २६३  पटक हेरिएको

भैरहवा,पुस २४

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको वार्षिक कार्यशाला गोष्ठी–२०७९ शुक्रबार र शनिबार कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा सम्पन्न भएको छ । चन्द्रौटास्थित सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा भएको कार्यशाला गोष्ठी (बैठक) ले वार्षिक कार्ययोजना तय गरेको संघका अध्यक्ष केशवराज ज्ञवालीले बताउनु भएको छ । 

बैठकले मदिरा व्यवसायी संघमा आबद्ध सम्पूर्ण व्यवसायीहरुको स्तर निर्धारण गरी डिलर थोक विक्रेता र फुटकर विक्रेता छुट्याइ नविकरण दस्तुर प्रमाणपत्रको स्तर फरक गर्ने, सदस्यहरुको व्यक्तिगत विकासमा टेवा पुग्ने गरी संघका सम्पूर्ण सदस्यहरुलाई व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वप्रति लगाव हुने गरी अभिमुखीकरण तालिम सञ्चालन गर्ने, वनभोज कार्यक्रम, मदिरा व्यवसायीहरुको फर्म दर्ता नविकरण तथा घरदैलो कार्यक्रम, नयाँ वर्ष २०८० को क्यालेण्डर प्रकाशन, बिमोचन, शुभकामना आदानप्रदान, व्यवसायिक राहत कोषको रकम छुट्याई छुट्टै बैंक खाता सञ्चालन, दशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना गर्ने निर्णय गरेको छ ।

त्यस्तै उत्पादक कम्पनी तथा डिलरसँग् छलफल गर्ने, मदिरा व्यवसायीहरुको गुनासो सुन्ने, छलफल गराउने, डेलिकेशन जाने, रेटमा एकरुपता ल्याउन पहल गर्ने, संघको विधानले तोकेको क्षेत्रभित्र नयाँ व्यवसायी पहिचान गरी दर्ता नविकरण शुल्क लिइ संस्थामा आबद्ध गराउने, समयअनुकुल उद्योग, व्यापार, पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमण, बजेटमा राजस्वका दर, भन्सार दर, नगरपालिकाका राजस्व निर्धारण गरिने दर, आर्थिक वृद्धि, निजी क्षेत्रका समस्या समाधानका लागि सल्लाह सुझाव पेश गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनसँग छलफल तथा अन्तरक्रिया, अन्य मदिरा व्यवसायी संघ तथा संघ–संस्थासँग छलफल तथा अन्तरक्रिया गरी सुझाव सल्लाह लिने, रक्तदान कार्यक्रम, स्थापना दिवस मनाउने, कर शिक्षा तालिम आयोजना गर्ने, स्थानीय तह, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुसँग आवश्यक समन्वय र सहकार्य गर्ने, व्यवसायी राहत कोषको लागि अध्ययन तथा वितरण, सडक खाना महोत्सव, वृद्धि भएको व्यवसायिक कर्जाको ब्याजदर विरुद्ध आवश्यकताअनुसार विभिन्न संघ–संस्थासँग सहभागी भइ कार्यक्रम गर्ने, सहुलियत दरमा बैंकले दिने महिला उद्यमी ऋण अन्य व्यवसायी जस्तै मदिरा व्यवसायीलाई दिनुपर्ने माग राख्दै सम्बन्धित निकायसँग छलफल तथा डेलिगेशन गर्ने, कार्यालयमा कर्मचारी, आवश्यक सामग्री खरिद गर्ने, कार्यालयलाई चुस्तदुरुस्त राखि सञ्चालन गर्ने, सूचना तथा सञ्चार माध्यमसँग समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले व्यवसायीको गुनासो सुन्ने, छलफल गर्ने, बजारमा सामान बाहिरबाट आउने दररेटमा एकरुपता गर्ने/गराउने र सरकारी अनुगमनमा सहभागी हुने, वार्षिक कार्ययोजना मुल्यांकन समिति संयोजकहरुको कार्यमुल्यांकन समिति समेत बनाएको संघका महासचिव केशव कुंवरले जानकारी दिनु भएको छ ।

कार्यशाला गोष्ठीले सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी समेत दिएको संघले जनाएको छ । बैठकमा रिर्पोटिङ तथा गत वर्षको कार्ययोजनाको समीक्षा सम्बन्धमा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार तथा वार्षिक कार्ययोजना संयोजकहरुको कार्यमुल्यांकन समितिका संयोजक चिरञ्जीवि राउतले बोल्नु भएको थियो ।

त्यस्तै २०७९ मंसिरसम्मको आम्दानी÷खर्च तथा २०७९÷२०८० को अनुमानित आय व्यय विवरण कोषाध्यक्ष यादव पोखरेलले प्रस्तुत गर्नु भएको थियो ।

कार्यशाला गोष्ठीमा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले व्यवसायीका समस्या समाधान गर्न सामूहिक रुपमा पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाले स्वदेशी बजारको प्रवद्र्धन र चलायमान बनाउन मिलेर अगाडि बढ्नुपर्ने बताउनु भएको थियो ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले मदिरा व्यवसायी संघ, भैरहवाले छोटो समयमा उत्कृष्ट र मन छुने काम गरेको बताउनु भएको छ । उहाले उद्योग व्यापार संगठन, रुपन्देही र मदिरा व्यवसायी संघ भैरहवाबीच घनिष्ट सम्बन्ध रहेको बताउनु भएको छ ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको स्वागत तथा महासचिव केशव कुंवरको सञ्चालनमा सम्पन्न कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघ–नेपालका उपमहासचिव राजेश महोत्रा, मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्री, ठाकुरकुमार श्रेष्ठ, मृगेन्द्र गोविन्द श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । मदिरा व्यवसायी संघ, भैरहवामा हाल १६१ जना सदस्य रहेको उपाध्यक्ष भागीरथ पाण्डेले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०१-०८ , समय : १२:३८:२१ , १ वर्ष अगाडि