रोहिणीमा मंगलबारदेखि मेयर कप क्रिकेट प्रतियोगिता हुँदै

रबिन्द्र गुप्ता , १६२  पटक हेरिएको

भैरहवा, माघ २

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा मंगलबार (भोली) देखि मेयर कप–२०७९ (क्रिकेट प्रतियोगिता) हुने भएको छ । नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजना तथा रोहिणी गाउँपालिकाको आर्थिक सहयोगमा श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताउनु भएको छ ।

माघ ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडा र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागीता रहने कुर्मीले जानकारी दिनु भयो । प्रतियोगिताको विजेता टीमलाई रु. ६० हजार र उपविजेतालाई रु. ३० हजार प्रदान गरिने उहाले बताउनु भयो ।

मंगलबार बिहान ११ बजे प्रतियोगिताको उद्घाटन हुने र उद्घाटन खेल रोहिणी–१ र रोहिणी–३ बीच हुने आयोजकले जनाएका छन् ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले खेलकुद क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाले भन्नु भयो , ‘क्रिकेटप्रति युवाहरुको रुची बढ्दो छ, सोहीअनुसार युवाहरुलाई प्रोत्साहन गर्न र खेल क्षेत्रको विकासका लागि गाउँपालिकाको सहयोगमा क्रिकेट प्रतियोगिता हुँदैछ । ’उहाले यसअघि गाउँपालिकाले कुस्ती प्रतियोगिता समेत आयोजना गरिसकेको बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०१-१६ , समय : १८:२७:४९ , १ वर्ष अगाडि