फुटबलर विशाल राई अष्ट्रेलिया लागे

रुपन्देही खबर , १५८  पटक हेरिएको

काठमाडौं, माघ २०

नेपाली फुटबल खेलाडी विदेश पलायन हुने शृंखला जारी रहँदा मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।राष्ट्रिय टिमका सदस्य समेत रहेका विशालले मच्छिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेल्दै आएका छन् ।

शुक्रबार मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठ लगायत खेलाडीहरुले विशाललाई उज्ज्वल भविष्यको शुभकामनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन् । म्यानेजर श्रेष्ठले विदाईको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

पछिल्लो समय नेपाली राष्ट्रिय टिममा खेलिसकेका र खेलिरहेकादेखि भविष्यमा खेल्न सक्ने युवा खेलाडीहरु पनि अष्ट्रेलिया गइरहेका छन् । नेपालका करिब ४० खेलाडी अहिले अष्ट्रेलियामा कम्युनिटी लिग खेलिरहेका छन् ।

नेपालमा नियमित खेल नहुने र भविष्य पनि अन्यौल हुने भन्दै खेलाडीहरु धमाधम विदेश पलायन भइरहेका छन् । फागुन १९ गतेदेखि ए डिभिजन लिग गर्ने भनेर सार्वजनिक गरिसके पनि खेलाडीहरु विदेश गइरहेका छन् ।

केही समयअघि मात्रै चर्च ब्वाइजमा अनुबन्ध भएका तेज तामाङ र दिनेश राजवंशी, संकटामा अनुबन्ध भएका गौतम श्रेष्ठ, खुमलटारमा अनुबन्ध भएका नितिन थापा मगर अष्ट्रेलिया गएका थिए ।

प्रकाशित मिति: २०२३-०२-०३ , समय : १०:५५:२५ , १ वर्ष अगाडि