रुपन्देही खबर , २२३ पटक हेरिएको
भैरहवा, माघ २८
रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ५ स्थित श्री पिपरहवा माध्यमिक विद्यालयको प्रांगणमा भएको शिविरमा ७६५ जनाको स्वास्थ्य परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले जानकारी दिनु भएको छ ।
शिविरमा विशेषज्ञ चिकित्सकसहितको टीमबाट सामान्य चिकित्सा, हाडजोर्नी तथा नशा रोग, बालरोग, महिला तथा प्रसुती सम्बन्धी रोग, छाला रोग, नाक, कान, घाँटी, मुटुरोग, दाँत तथा गिजासम्बन्धि परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले बतानु भयो । त्यस्तै शिविरमा रगत परीक्षण, मुटुको ई.सी.जी. तथा भिडियो एक्स–रे सेवा प्रदान गरिएको केसीले जानकारी दिनु भएको छ । उहाले भन्नु भयो , ‘शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई पहेलो कार्ड प्रदान गरिएको छ, उक्त कार्ड लिएर अस्पतालमा आउने बिरामीलाई उपचारमा २० प्रतिशत छुट र नर्मल बेडको निःशुल्क व्यवस्था गरिनेछ ।’ त्यस्तै बिरामीलाई अस्पतालसम्म जाने र घर फर्कन निःशुल्क यातायातको व्यवस्था गरिने केसीले जानकारी दिनु भयो । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका रोहिणी–४ का उदयराज अहिरले स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसीको अनुभुति भएको बताएका छ्न । उनले भने, ‘मैले यहाँ उपचार गर्न पाए । आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्छ ।’
त्यस्तै स्वास्थ्य परीक्षण गर्न आएकी रोहिणी–५ की निर्मला यादवले शिविरमा स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी व्यक्त गरिन् ।
शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि गाउँपालिकाले युसीएमएमसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, ‘युसीएमएसले रोहिणीसहित विभिन्न क्षेत्रका जनताको उपचारमा सहयोग पुर्याउँदै आएको छ, म युसीएमएसलाई धन्यवाद दिन चाहन्छु ।’ गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै आएको अध्यक्ष यादवले बताए ।
त्यस्तै रोहिणी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्रीले वृहत निःशुल्क स्वास्थ्य शिविरले नागरिक लाभान्वित भएको बताउनु भएको छ । उहाले आगामी दिनमा रोहिणी–५ मा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिने जानकारी दिनु भयो।
रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले विभिन्न रोगबाट ग्रसित नागरिकलाई उपचारका लागि शिविरले सहज बनाएको बताउनु भएको छ । उहाले रोहिणी–६ मा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गर्न लागेको जानकारी दिनु भयो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीले शिविरमार्फत नागरिकले गाउँघरमै स्वास्थ्य सेवा पाएको बताए । उनले रोहिणी गाउँपालिका वडा नम्बर ४, ५ र ६ लाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताए । आगामी दिनमा पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिइने उनले बताए ।
रोहिणी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीको स्वागत तथा पिपरहवा माविका शिक्षक राधेश हरिजनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२३-०२-११ , समय : २१:०४:२३ , २ वर्ष अगाडि