रबिन्द्र यादव , ३११ पटक हेरिएको
नवलपरासी पश्चिम, फागुन ४
प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित बेलाटारीमा रहेको त्रिभुवन नमुना माध्यमिक बिद्यालयमा बिहीबारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा गाउँपालिकाको १२ वटा माध्यमिक विद्यालयहरुको सहभागीता रहेको छ । प्रतियोगिताका लागि गाउँपालिका भित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयलाई अनिवार्य सहभागीता गराइएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक भगवती प्रसाद (रुदल) यादवले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा व्यक्त गर्नु हुदै खेलाडीलाई संरक्षण र सम्बर्द्धन गर्नसके देशका लागि सक्षम खेलाडी तयार गर्न स्थानीय स्तरबाट टेवा पुग्न सक्ने बताउनु भएको छ । खेलकुद प्रतियोगिताबाट उनिहरुको शारीरिक,मानसिक,व्यक्तित्व र सामाजिक नेतृत्वदायी क्षमता विकासमा समेत टेवा पुग्ने सक्ने बताउनु भएको छ । यादवले खेलाडीहरु उत्पादन गर्ने पहिलो माध्यम नै स्थानिय तहको विद्यालय स्तरबाट भएकाले यस्ता खेलकुदलाई निरन्तरता दिदै गइयो भने उनीहरुको प्रतिभालाई जिल्ला,प्रदेश, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरसम्म उजागर गर्दै सम्मान गरिनु पर्नेमा जोड दिनु भयो ।
यसैगरी कार्यक्रममा आफनो भनाई राख्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द यादवले गाउँपालिकामा खेल क्षेत्रलाई विस्तार गर्दै लैजाने र उत्कृष्ट,अनुशासित र सक्षम खेलाडीहरुलाई जिल्ला,प्रदेश,राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउने यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताउनु भएको छ । उहाले अगामी दिनमा पनि यो खेलकुदलाई निरन्तरता दिदै जाने बताउनु भयो । यादवले केही निजी स्वार्थ बोकेका तत्वले समृद्ध गाउँपालिका विकासमा अवरोध गरेपनि सबैको सामना गरि अगाडि बढिरहेको गुनासो गर्नु भयो । उहाले समग्र प्रतापपुर गाउँपालिका विकासमा सबैको साथ र सहयोग अपरिहार्य रहेकोमा जोड दिनु भयो ।
उक्त प्रतियोगितामा भलिबल, कबड्डी एथ्लेटीक्स तर्फ, हाइजम्प, लङजम्प, ट्रिपलजम्प,सटपुट, र ट्रयाक तर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर र एक सय मिटर रिले दौड लगाएतका खेलहरु सञ्चालन हुने प्रतापपुर गाउँपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिनु भएको छ ।
बिहीबार देखि सुरु भएको उक्त प्रतियोगिता शनिबार सम्म संचालन हुने छ । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द यादवको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक भगवती प्रसाद यादवको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु,जनप्रतिनिधिहरु,बिभिन्न राजनितीका दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि ,सुरक्षाकर्मी ,संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
खेलाडीहरुले राष्ट्रको छवि उच्च बनाउन महत्त्वपूर्ण योगदान र भुमिका निर्वाह गर्न सक्ने भनेर नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिका २०७० बमोजिम देशभित्रका सम्पुर्ण स्थानीय तह, प्रदेश र संघियस्तर उक्त खेलकुद प्रतियोगिता ल्याएको हो । स्थानिय तहले चैत मसान्तसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने हो ।
खेलकुद प्रतियोगिताबाट उत्कृष्ट,अनुशासित र सक्षम खेलाडीले क्रमशः जिल्ला,प्रदेश,संघिय र अन्तर्राष्ट्रियस्तरमा छनौट भई खेल खेल्न पाउने प्रावधान रहेको छ ।
प्रकाशित मिति: २०२३-०२-१६ , समय : २३:५९:२५ , २ वर्ष अगाडि