विश्वकप क्रिकेट लिग-२ यूएईमा हुने शृंखलामा नेपालका दुई खेलाडी खेल्न नपाउने

रुपन्देही खबर , २३७  पटक हेरिएको

भैरहवा, फागुन ८

नेपाली राष्ट्रिय टोलीका दुई महत्वपूर्ण सदस्यले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने त्रिदेशीय शृंखला गुमाउने भएका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने र गुल्सन झाले शृङखला गुमाउने भएका हुन् ।

सन्दीपलाई अदालतले विदेश जानबाट रोक लगाएको छ भने गुल्सन यू–१९ टिमको बन्द प्रशिक्षणमा रहेका कारण उनीहरुले यूएई भ्रमण गुमाउने नेपाल क्रिकेट संघ (क्यान) का एक प्रतिनिधिले बताए । यूएईमा लिग–२ अन्तर्गतको शृंखलामा नेपालसँगै घरेलु टिम यूएई र पपुवा न्यु गिनी (पीएनजी) सँग खेल्ने तालिका छ । नेपालले फेब्रुअरी २७ मा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध शृंखलाको पहिलो खेल खेल्नेछ । हाल नेपाली टिमले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग लिग–२ अन्तर्गतकै शृंखला खेलिरहेको छ। शृंखलामा नेपालले तीन खेल खेल्दा शतप्रतिशत नतिजा निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेटले, दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध तीन विकेटले र तेस्रो खेलमा नामिबियाविरुद्ध पुनः तीन विकेटको जित निकालेको थियो ।

यसैबीच आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल र यूएईसँग खेल्ने पपुवा न्युगिनी (पीएनजी) टोली घोषणा भएको छ । असद भालाको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा भएको हो । नेपाल अहिले घरेलु मैदानमा जारी रहेको विश्वकप लिग टू को नेपाल,नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिजमा व्यस्त रहेको छ । मंगलबार यो सिरिज सकिए लगत्तै नेपाल यूएई भ्रमणमा निस्कने छ । यूएईमा नेपालले घरेलु टोली र पपुवा न्युगिनिसँग समान २र२ लिग टूको खेल खेल्नेछ । युएईमा २७ फेब्रुअरीमा नेपालसँग पहिलो खेल खेल्ने पपुवा न्युगिनीले ३ मार्चमा दोस्रो खेल खेल्नेछ ।

त्यस लगत्तै नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी तथा यूएईलाई त्रिकोणत्मक सिरिजका लागि निम्ता दिने छ । किर्तिपुरमा १० मार्चमा पपुवा न्यु गिनीसँग पहिलो खेल खेल्ने नेपालले १३ मार्चमा दोस्रो खेल खेल्नेछ । नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा २७ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पपुवा न्युगिनि २८ खेलमा ५ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रकाशित मिति: २०२३-०२-२० , समय : १५:४३:५४ , १ वर्ष अगाडि