उर्मिला यादव यात्री , ३३३ पटक हेरिएको
भैरहवा ,फागुन १४
प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वलाई वडा केन्द्रित अभियानका रुपमा अगाडी बढाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका देउखुरी दाङले बुटवलमा शनिबार आयोजना गरेको प्रजनन स्वास्थ्य सम्बन्धि महिला जनप्रतिनिधि, अधिकारकर्मी तथा संचारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले सो कुरामा जोड दिएका हुन । लुम्बिनी प्रदेशमा बालमृत्युदर र मातृमृत्युदर अन्य प्रदेश भन्दा बढदै गइरहेकोले यसको न्युनीकरणमा स्वास्थ्य संस्थाहरु सचेत हुनुपर्ने र यसको कारण पत्ता लगाउनुपर्ने सहभागीहरुले माग गरेका छन ।
यस्तै गरी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले प्रसुतीको अवस्थामा कुनै पनि आमाले अकालमा ज्यान गुमाउनु नपर्ने बताउनु भएको छ । उहाले यसको न्युनीकरणका लागी राजनीतिक दल देखि लिएर जनप्रतिनिधी, कर्मचारी, शिक्षक लगायत आमसमुदाय नै एकसाथ लाग्नुपर्ने बताउनु भएको छ । उहाले प्रजनन स्वास्थ्य मानव जीवनका लागि अति महत्वपूर्ण विषय भएकाले सबै संवेदनशिल हुनु पर्ने बताउनु भयो । मन्त्री पन्थीले यो संवेदनशिलतालाई ध्यानमा राखेर मन्त्रालयले आगामी कार्ययोजना बनाउने बताउनु भयो । उहाले सबै क्षेत्रले यसको महत्वलाई बुझेर काम गर्न सक्ने हो भने कुनै पनि आमाले प्रसुतीको समयमा अकालमा ज्यान गुमाउनु नपर्ने बताउनु भयो ।
यस्तै गरी कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भगवती घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरुमा सिस्टम नभएको र अनुगमनको अभावले गर्दा पनि त्यहा स्वास्थ्य सेवा लिन आउने प्रसुतीहरुलाई स्वास्थ्यकर्मीहरुको ब्यवहारले नकरात्मक प्रभाव पारेको बताउनु भएको छ । उहाले स्वास्थ्यकर्मीहरुको ब्यवहारले मानसिक रुपमा समेत असर परेको बताउनुु भएको छ । उहाले त्यस विषयमा पनि स्वास्थ्य संस्था र स्वास्थ्थकर्मीहरु सचेत हुनु पर्नेमा जोड दिनु भयो । उहाले प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु प्रदेश सरकाले संचालन गर्नुपर्ने र यस बिषयमा प्रदेशमा आफनो भनाइ राख्ने बताउनु भयो ।
यस्तै गरी कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उपसचिव महेश पाण्डेयले सरकारले लागु गरेका सबै नीति नियमहरु संघ संस्थामा सही रुपमा कार्यान्वयन भए नभएको निगरानी सबैले गर्नु पर्नेमा जोड दिनु भएको छ । महाशाखा प्रमुख पुष्पराज पौडेलले अब सन्तान जन्माउँदा कुनै पनि आमाले मृत्यु वरण गर्नुपर्ने अवस्था नआओस भन्नका लागि यस्ता कार्यक्रमहरुले महत्वपूर्ण अर्थ राख्ने बताउनु भएको छ ।
सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले अब सञ्चारकर्मीले प्रजनन स्वास्थ्यलाई जोडेर समाचार लेख्नु पर्नेमा जोड दिनु भएको छ । अध्यक्ष अनमोलले प्रजनन स्वास्थ्य अधिकार , महिला अधिकार र लैंगिक हिंसाबिच समन्वय, लगायत महिलाले अव वकालत सुरु गर्नुपर्ने बिषयमा सहजीकरण गर्नु भएको थियो । यस्तै गरी कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत सुनिता ज्ञवालीले लुम्बिनी प्रदेशको प्रजनन स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । उहाले आर्थिक बर्ष २०७७, ७८ को तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा प्रसुतीको समयमा ७२ जना आमाले ज्यान गुमाएका छन । भने आर्थिक बर्ष ०७८, ७९ मा आमाको मृत्युदरमा बृद्धि भएको अधिकृत ज्ञवालीले जानकारी दिनु भयो । उहाले जति सेवासुबिधा भएपनि अस्पतालमा मृत्यु हुने आमाको संख्यामा कमी आउन नसकेको बताउनु भएको छ ।
यस्तै गरी जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले १६ वटा स्थानिय तहलाई शुन्य होम डेलिभरी घोषणा गर्ने अभियानमा रहेको जानकारी दिनु भएको छ । उहाले रुपन्देहीको ४ वटा स्थानिय तह अझै पनि शुन्य होमडेलिभरीको अवस्थामा रहेको बताउदै यसलाई बढाउदै लैजाने र घरमा सुत्केरी हुने संख्यालाई घटाउदै लैजाने जसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । उहाले पछिल्लो समय आमाको मृत्युदर बढेको जुन आफैमा नराम्रो बिषय भएको बताउनु भयो । उहाले अबका दिनमा प्रजनन स्वास्थ्यका कुरा प्रत्येक घरघरमा गएर जानकारी दिनुपर्ने बताउदै त्यसका लागि स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनु भयो । उहाले गर्भवती महिलाहरुलाई आइरन चक्की नदिने र स्वास्थ्य क्षेत्रमा लापरवाही गर्ने स्वास्थ्य कार्यालयहरुलाई नियम अनुसार कारवाही गर्ने बताउनु भएको छ ।
कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख विना राना , लुम्बिनी सास्कृतिनगर पालिकाका उपप्रमुख कल्पना हरिजन, कञ्चन गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०२-२६ , समय : २२:०७:३९ , २ वर्ष अगाडि