रोहिणी–३ मा निःशुल्क आँखा शिविर, ४ सय बढी लाभान्वित

रुपन्देही खबर , ३४३  पटक हेरिएको

भैरहवा, फागुन २०

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रोहिणी–३ वडा कार्यालयको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो ।

स्थानीयबासीलाई आँखासम्बन्धी रोगको उपचार घरदैलोमै होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताउनु भएको छ । शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भएको छ ।


शिविरमा ४ सय जना बढीको आँखा परीक्षण भएको थियो । जसमध्ये १२० जनाको मोतीयाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह आँखा अस्पतालमा पठाइएको अस्पतालका बाह्य कार्यक्रम संयोजक संजीब अधिकारीले जानकारी दिनु भयो ।

आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिइने रोहिणी–३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०३-०४ , समय : २३:१८:३६ , १ वर्ष अगाडि