लुम्बिनीमा चैत २३ गतेबाट हाफ् म्याराथन प्रतियोगिता हुने

प्रतियोगिताको उदघाटन पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने

उर्मिला यादव यात्री , ४०२  पटक हेरिएको

भैरहवा, चैत १८

अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा शान्ति समृद्धिका लागी खेलकुद भन्ने मुल नाराका साथ लुम्बिनी पिस ओपन महिला तथा पुरुष हाफ् म्याराथन प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा यहि चैत २३ गतेबाट गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा प्रतियोगिता हुन लागेको हो । आज बुटवलमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताको उदेश्य माथि प्रकाश पार्दै मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धु्रब आचार्यले खेल र खेलकुदले राष्ट्रियता र राष्ट्रको हकमा सकरात्मक प्रभाव पार्ने बताउदै म्याराथनको अर्थ नै शान्तिसंग जोडिएको कारण गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रतियोगिता आयोजना गर्न लागिएको बताउनु भयो । उहाले खेल पर्यटनलाई भित्रयाउनका लागी यो प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा जोड दिनु भयो ।

लुम्बिनीको मायादेवी मन्दिर, शान्ति दिप लगायतका क्षेत्रलाई बीचमा पारी २१ किलोमिटर हाफ् म्याराथन हुने र प्रतियोगितामा देशको जुनसुकै प्रदेश र जिल्लाका खेलाडी सहभागी हुन पाउने र सहभागीको कुनै पनि उमेर हद नभएको आयोजकले जनाएको छ । यहि चैत २३ गते बिहान सातबजेदेखि लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय सभाहल तथा मेडिटेसन सेन्टरमा हुने प्रतियोगिताको उदघाटन मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने एकेडेमीका अध्यक्ष आचार्यले जानकारी दिनु भयो ।

२१ किलोमिटर हाफ् म्याराथन प्रतियोगिताको विजेताले पुरुषतर्फ १ लाख ५० हजार, महिलातर्फ १ लाख ५१ हजार पुरस्कार राशी, सिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरीने एकेडेमीका अध्यक्ष आचार्यले बताउनु भयो ।
यसैगरी पुरुष तथा महिला दुबैतर्फका द्वितीय हुनेले ७५ हजार, तृतीय हुने महिला र पुरुष तर्फ ५० हजार, र चौथो र पाँचौं स्थानमा आउने धावकहरुले क्रमशः ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने आचार्यले जानकारी दिनु भयो । यसैगरी छैटौदेखि सातौ नम्बर सम्म आउने धावकहरुले क्रमशः १० हजार र ७ हजार नगद राशी प्राप्त गर्ने छन भने आठौ, नवौं र दशौं स्थान आउने महिला र पुरुष तर्फका धावकले नगद ५ हजार सिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

म्याराथन प्रतियोगिताका लागि चैत्र २० गतेसम्म दर्ताको अन्तिम मिति रहेको छ भने चैत्र २२ गते मेडिकल परीक्षण हुने कार्यक्रमका संयोजक मोहन बहादुर घलेले जानकारी दिनु भयो ।

दिवसको अवसरमा एकेडेमीले सोही दिन राष्ट्रिय भेलाको समेत आयोजना गरेको छ । भेलामा ७७ वटै जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । भेलामा विभिन्न खेल विधाका डेमोस्ट्रेसन र विभिन्न कला संस्कृति झल्किने नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । तत्कालिन एमाले महासचिव मदन भण्डारीको स्मृतिमा उहाको भावना समेट्ने गरी स्थापना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले ७० बढी जिल्लाका स्थानीय तहहरुमा आफ्नो कमिटी बिस्तार गरेको छ । २०६६ सालमा स्थापना भएको यस संस्थाले विभिन्न अन्तराष्ट्रिय, राष्ट्रिय तथा स्थानिय स्तरमा खेलकुद गतिबिधि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: २०२३-०४-०१ , समय : २२:३६:१२ , २ वर्ष अगाडि