इण्डियन प्रिमियर लिग क्रिकेटमा सनराइजर्स हैदरावाद ४ विकेटले विजयी

rupandehi khabar , १५८  पटक हेरिएको

काठमाडौं, वैशाख २५

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावाद ४ विकेटले विजयी भएको छ । गएरातिको ५२ औं खेलमा राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो । अन्तिम बलमा चार रन चाहिएको बेला अब्दुल समादले छक्का प्रहार गर्दै हैदरावादलाई रोमाञ्चक जित दिलाए । यो जितसँगै हैदरावाद आईपीएलको जारी सिजनबाट आउट हुनबाट जोगियो । उसले खेलेका १० म्याचमध्ये यो चौथो जित हो । हैदरावादको जितमा अनमोलप्रित सिंह ३३ रन बनाए भने अभिषेक शर्माले अर्धशतकीय पारी खेले । ३४ बल सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५५ रन बनाए । राहुल त्रिपाठीले ४७ रन योगदान गरे । अब्दुल समाद १७ रनमा नटआउट रहे । बलिङतर्फ युजवेन्द्र चहलले २९ रन खर्चेर ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१४ रन बनाएको थियो । उसका लागि जस बटलरले सर्वाधिक ९५ रन बनाए । ५९ बल सामना गरेका उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै सन्जु सामसनले नटआउट ६६ रन बनाए । उनले ३८ बल सामना गर्ने क्रममा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यसअघि यशस्वी जयशवालले १८ बलमा ३५ रन बनाएका थिए । बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार र मार्को जेनसनले एक–एक विकेट लिए । तर उनीहरु महँगा सावित भए । भुनवेश्वर कुमार र जेनसन दुवैले समान चार ओभरमा ४४ रन खर्चिएका थिए । सबैभन्दा महँगो सावित मयंक र्माकण्डेय भए । उनले ४ ओभरमा ५१ रन दिए ।

प्रकाशित मिति: २०२३-०५-०८ , समय : ०७:०५:५० , १ वर्ष अगाडि