रोहिणीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक तथा सरोकारवालाहरुको प्रतिवद्धता

rupandehi khabar , १३१  पटक हेरिएको

भैरहवा,जेठ ३

रुपन्देहीको रोहिणी गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक तथा सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार रोहिणी–३ स्थित धकधईमा आयोजना गरेको शैक्षिक वर्ष २०७९ को पढाई समीक्षा (सिकाई उपलब्धी विश्लेषण) कार्यक्रममा प्रधानाध्यापक तथा सरोकारवालाहरुले १९ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । बितेको शैक्षिकसत्रको अवस्थाबारे वृहत रुपमा समीक्षा गर्न कार्यक्रम गरिएको गाउँ शिक्षा समिति सदस्य तारानाथ त्रिपाठीले बताए । उनले विगत २–३ वर्षदेखि कोभिड–१९ लगायत कारणले अपेक्षित रुपमा शैक्षिक गुणस्तर सुधार एवं अभिवृद्धि हुन नसकेको बताए । विगतका वर्षको सिकाई उपलब्धी विश्लेषण गर्दै नयाँ तरिकाले कसरी अघि बढ्ने भन्नेबारे कार्यक्रममा छलफल गरिएको त्रिपाठीले बताए । कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवले गाउँपालिकाले शिक्षा क्षेत्रमा बढी लगानी गरेको बताए । उनले शैक्षिक गुणस्तर सुधार तथा अभिवृद्धिका लागि गाउँपालिकाको एक्लो प्रयासले सम्भव नहुने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । अध्यक्ष यादवले भने, ‘सबै मिलेर अघि बढ्नुपर्छ । सरोकारवालाहरुको सल्लाह–सुझाव लिएर शिक्षा क्षेत्रमा लगानी बढाउँछौं । लगानीअनुसार विद्यार्थीहरुको नतिजा राम्रो हुनुपर्छ । ’
गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजनले गाउँपालिकाले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्, ‘शिक्षा क्षेत्रलाई अगाडी बढाउन लागिपरौं । शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनैपर्छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले अनुशासन विद्यार्थीमा मात्र नभइ शिक्षकमा पनि हुनुपर्ने बताए । उनले भने, ‘विद्यालयमा विद्यार्थीहरुको सहभागीता बढाउनेतर्फ अघि बढ्नुपर्छ । ’प्रमुख प्रशासकीय अधिकृत गौतमले विद्यालयका अधुरा संरचना निर्माणमा बजेट विनियोजन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए । उनले अभिभावकहरु विद्यालय व्यवस्थापन समितिको निर्वाचनको समयमा मात्र नभइ समयसमयमा आफ्ना बालबालिकाको पढाइको बारेमा विद्यालयमा पुगेर जानकारी लिनुपर्ने बताए ।

रोहिणी–१ का वडाअध्यक्ष तथा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक आविद अली पठानले सबैले आफ्नो कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए ।
रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले गाउँपालिकाले सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेको बताए । उनले शैक्षिक गुणस्तर सुधार गर्नका लागि शिक्षकको क्रियाशिलता, अभिभावकको सक्रियता र विद्यालय व्यवस्थापन समितिको नेतृत्वदायी भूमिका आवश्यक रहेकोमा जोड दिए ।
रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले एक अर्कालाई दोष दिनुभन्दा आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए ।
रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले राज्यले सामूदायिक विद्यालयमा धेरै लगानी गरेकाले लगानीअनुसारको प्रतिफल हुनुपर्नेमा जोड दिए । उनले सबैले आ–आफ्नो काममा जवाफदेही हुनुपर्ने बताए ।
के भन्छन् प्रधानाध्यापक तथा सरोकारवाला ?
रोहिणी गाउँपालिकाअन्तर्गत विभिन्न विद्यालयका प्रधानाध्यापक, सह–प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले विभिन्न सुझाव दिएका छन् । उनीहरुले शिक्षकलाई प्रोत्साहन गर्नुपर्ने, समयसमयमा विद्यालय अनुगमन हुनुपर्ने, मदरसामा शिक्षक व्यवस्थापन तथा बजेटमा ध्यान दिनुपर्ने, सम्पूर्ण सरोकारवाला पक्ष जिम्मेवार हुनुपर्नेलगायतका माग गरेका छन् ।
कार्यक्रममा युवा नेता शेषमणि यादवले गाउँपालिकाका विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माणले तीव्रता पाएको बताए । उनले गाउँपालिकाले प्रधानाध्यापकको काज सरुवा गरे प्रधानाध्यापक सरुवा भएको विद्यालयमा जान तयार हुनुपर्ने बताए । उनले भने, ‘शिक्षकहरुले आफ्नो बालबालिकालाई सामूदायिक विद्यालयमा पढाए शैक्षिक गुणस्तरमा अझ टेवा पुग्छ ।’
समाजसेवी हरिद्वार हरिजनले विद्यालयलाई राम्रो विद्यालय बनाउनुपर्नेमा जोड दिए ।
श्री भविष्य उज्जवल आधारभूत विद्यालयका प्रधानाध्यापक धनेश्वर कंवर, छिपागढ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अहमद अली अन्सारीलगायतले बोल्दै विगतको तुलनामा सामूदायिक विद्यालयमा सुधार आएको र शैक्षिक गुणस्तर सुधारका लागि अगाडि बढ्नुपर्ने बताए । रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको अध्यक्षता, रोहिणी गाउँ शिक्षा समितिका सदस्य तारानाथ त्रिपाठीको स्वागत तथा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यस्ता छन् प्रतिवद्धताहरु
१. प्रारम्भिक बालविकास शिक्षा मानवको भावी जीवनका तयारीका लागि सर्वाधिक महत्वपूर्ण चरण भएकोले बालबालिकाको सर्वाङ्गिण विकासका लागि उच्च महत्व दिदै कम सबै विद्यालयमा पूर्व प्राथमिक कक्षालाई व्यवस्थित गरिदै लगिने छ । जसको लागि बालबालिकाहरुलाई चिसो नपस्ने गरी बसाइ व्यवस्थापन, विभिन्न खेलौनाहरु र मनोरञ्जनसहितको उचित बालमैत्री कक्षा व्यवस्थापन गरिनेछ ।
२. गाउँपालिकाको आर्थिक तथा सामाजिक रुपले पछि परेका दलित तथा अन्य कठिन समुदायका बालबालिकामा देखिएका कमजोर आन्तरिक सक्षमता (भना, उत्तीर्ण धानिने, दोर्होयाउन र छाड्ने दरलाई सम्बोधन गर्न स्थान विशेष र विद्यालयगत विशिष्टिकृत प्रयास गरिने छ । विद्यालय तहमा शिक्षक स्टाफ बैठक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघमा छलफल गरी समस्या समाधानका आ–आफ्ना मौलिक उपाय पहिचान र कार्यान्वन गरिने छ ।
३. विद्यार्थी मूल्यांकनलाई पठनपाठनमा सुधारको प्रमुख आधार बनाउन विद्यार्थीले परीक्षामा प्राप्त गरेका वास्तविक नतिजालाई विद्यार्थीका व्यक्तिगत अवस्था विश्लेषण गरी सुधारका उपयुक्त उपाय अवलम्बन गर्ने नीति अवलम्बन गरिने छ । उत्तरपुस्तिका परीक्षणमा सुधारका लागि प्रशस्त पृष्ठपोषण प्रदान गर्नेछ । विद्यार्थीको परीक्षाफल प्रकाशनमा अनिवार्य रुपमा अभिभावक बोलाई विद्यार्थीको नतिजा विश्लेषण गरी परीक्षण गरिएका उत्तरपुस्तिका अभिभावक र विद्यार्थीको जानकारीका लागि एक हप्ताका लागि अभिलेख (फाइल) गरी पठाउने छौं । निरन्तर विद्यार्थी मूल्यांकनको उद्देश्यअनुरुप कार्यान्वयन गर्ने छौ, प्रयोगात्मक परीक्षाको अभ्यास एवं मूल्यांकन प्रक्रिया उद्देश्य अनुकुल गर्ने गराउने छौं ।
४. साक्षरतापछिका निरन्तर सिकाइमा जोड दिदै राज्यबाट प्रदान गरिने सुविधा जस्तै ः नागरिकता, वृद्ध भत्ता, राहदानी जस्ता पक्षमा सामान्य लेखपढ र हस्ताक्षरलाई अनिवार्य गरिनेछ ।
५. विद्यालय निरीक्षणको भूमिकालाई शिक्षण सिकाइ क्रियाकलाप कक्षा कोठाको पढाईमा अझ बढी केन्द्रित गरिनेछ । गाउँपालिकामा हुने प्रत्येक महिनाको प्रधानाध्यापक बैठकमा निरीक्षकको कम्तिमा एउटा नमुना शिक्षण, कक्षा अवलोकन र अवलोकन पाँच शिक्षक र विद्यालय परिवारसंगका छलफललाई विश्लेषण गरिने छ ।

६. प्राविधिक तथा व्यवसायिक शिक्षालाई गाउपालिकामा व्यवस्थित र विस्तार गर्न हालसम्मको अवस्था विश्लेषण गरी पहल प्रयत्न गरिने छ ।
७. स्थानीय विषय स्थानीयतासँग बढी सम्बन्धित विषयवस्तु समेटेर रोहिणी गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण हुँदैछ । पाठ्यकमको आधारमा पाठ्यपुस्तक बनाई आगामी शैक्षिक वर्षदेखि कक्षा १ देखि कक्षा ८ सम्म लागू गरिने छ ।
८. हरेक शिक्षकले “विद्यार्थीलाई पढ्ने हरेक विद्यायार्थीका घरका पृष्ठभूमि, सिकाइका गति र क्षमता, व्यक्ति विशेषका समस्या आदि शिक्षकको रुपमा विकसित गरिनेछ । विभिन्न प्रकारका शिक्षक तालिममा आर्जन गरेका ज्ञान, सीप, प्रवृत्ति र क्षमतालाई समेत यसप्रक्रिया अर्थात् “विद्यार्थीलाई पढ्ने शिक्षकको रुपमा विकसित गर्न उपयोग गरिने छ । यसका लागि शिक्षक गुरु गुरुआमालाई सम्मान र सहयोग गर्न सबै सरोकारवाला तयार र तत्पर भएको प्रतिवद्धता व्यक्त गर्दछौं, साथै हरेक शिक्षकले कार्यमुलक अनुसन्धान र मामला अध्ययनको व्यवहारिक प्रयोग गर्ने कार्यलाई रोहिणी गाउँपालिकाको पहिचान र मौलिक प्रतिबद्धताका रूपमा यसलाई अवलम्बन गरिने छ ।
९. हरेक शिक्षकले योजना बनाई सो अनुरुप शिक्षण गर्नेछौं । उक्त योजनाका लागि सबै शिक्षकलाई विद्यालयबाट योजना डायरी वितरण गरिनेछ । योजना डायरीमा वार्षिक शैक्षणिक योजना, एकाई योजना र दैनिक पाठयोजना बनाइ प्रधानाध्यापकबाट प्रमाणित गराई कार्यान्वयन गर्नेछौं । साथै शैक्षिक सत्रको सुरुवातमा शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला सञ्चालन गरी आवश्यक सामग्री निर्माण गर्ने छ ।
१०. सबै अभिभावक र विद्यार्थीलाई पुरा समय विद्यालयमा पठनपाठन हुन्छ भन्ने कुराको सुनिश्चिता गर्न विद्यायालय व्यवस्थापन समितिमा गहन रुपमा छलफल गरी यस कुरालाई सम्बोधन गरिनेछ । विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि हरेक कक्षामा शिक्षक आएको र गएको जनाउने अभिलेख बोर्ड राखिने छ । जसले गर्दा शिक्षकको तोकिएको समय कक्षाकोठामा बित्नेछ । साथै हामी शिक्षकहरुले पेशाप्रति गर्व गर्दै सकारात्मक सोचका साथ शिक्षण कार्यमा लाग्ने कुराको सुनिश्चितता गर्दछौं ।
११. निजी विद्यालयमा हुने नियमित पठनपाठनका कुरालाई उच्च कदर गर्दै बालबालिकाको सिकाइलाई अझ व्यवस्थित र मध्यादित गराउन क्रियाकलापमा आधारित तथा बालमैत्री शिक्षण सिकाइमा जोड दिइने छ । पाठ्यक्रमले निर्दिष्ठ गरेका सिकाई उपलब्धि पुरा गर्नका लागि सिर्जनात्मक शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने कार्यमा प्रतिवद्ध हुने छौं ।

१२. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप अनुरुप विद्यालयमा उपयुक्त सिकाइ वातावरण सिर्जना गर्दै, प्रत्येक विद्यार्थीसँग कुनै न कुनै प्रकारका विशिष्ट क्षमता हुन्छ भन्ने मान्यतालाई कदर गर्न हरेक विद्यालयमा शिक्षक स्टाफ बैठक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका बैठकमा विद्यार्थीका प्रतिभा पहिचान र सम्बोधनसम्बन्धी कार्यलाई नियमित प्रक्रियाका रुपमा विकास गरिने छ । विभिन्न प्रतिभाका विद्यार्थीका क्षमता विकास गर्न विद्यालयको अवस्था र परिवेशअनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन जस्तै खेलकुद प्रतियोगिता, साहित्यिक प्रतियोगिता, कला संस्कृति र व्यवहारिक सिप सम्बन्धी कार्यक्रम सञ्चालन गरिने छ । विद्यालयमा सरसफाई र स्वच्छता सम्बन्धी कार्यहरु जस्तै ः– डस्टविनको प्रयोग फूलवारी निर्माण लगायतका हरेक विद्यार्थी शिक्षकले आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने जस्ता कार्यहरु गरिनेछ ।
१३. यस गाउँपालिका सबै विद्यालयहरुलाई शान्तिक्षेत्रका रुपमा घोषणा गरिएको छ । अब आइन्दा विद्यालयहरूमा पठनपाठन हुने दिनमा बालबालिकाको पठनपाठनलाई नकारात्मक असर पर्ने गरी कुनै किसिमका गैरशैक्षिक र राजनैतिक दल विशेषका कार्यक्रम सञ्चालन गरिने छैन, शिक्षकहरुको दल विशेषको राजनीतिक क्रियाकलाप पूर्ण रुपमा अन्त्य गर्नेछौं, साथै विद्यालयको पठनपाठनलाई असर पर्ने गरेर बन्द, हडताल र चक्काजाम गरिने छैन ।
१४. रोहिणी गाउँपालिका अन्तर्गतका विद्यालयहरुका गतिविधिलाई क्रमशः पारर्दशी गरिदै लगिनेछ ।
१५. विद्यालयमा उपयुक्त शैक्षिक नेतृत्व नियमानुसार व्यवस्थापन गर्दै लगिने छ । हरेक विद्यालयमा शिक्षकहरुको जिरो द्वन्द्व भई द्वन्द्व व्यवस्थापन र ऐक्यवद्धता कायम राख्न नेतृत्व र नेतृत्वशीलताको निर्देशनलाई रचनात्मक कार्यान्वयन गरिनेछ ।
१६. हामीले शिक्षण गराइरहेका विद्यार्थीको सिकाई उपलब्धिको विश्लेषण गर्दा औषत उपलब्धि स्तर कमजोर देखिन्छ । सिकाई उपलब्धि बढोत्तरीका लागि शिक्षकहरुको सक्षमता बढाउन विषयवस्तुमा निपूर्णता, शिक्षण कौशल, बालवालिकाको ज्ञान, स्पष्ट सञ्चार, शिक्षकले निरन्तर रुपमा पढ्ने र पेशागत विकास गर्ने, वि. व्य. स. ले बनाएको आचारसंहिता पालना गर्ने, शिक्षणमा विभिन्न प्रविधिको प्रयोग गरेर विविध भिन्नता भएका सिकारुका सिकाई आवश्यकता पुरा गर्न हामी शिक्षकले आफुलाई अध्यावधिक गर्नेछौं ।
१७. आफ्ना बालबालिकालाई राम्रो बनाउने हरेक अभिभावकहरुको चाहना हुन्छ तर अभिभावक शिक्षा (जनचेतनाको कमी रहेकाले बच्चाहरुको शिक्षा राम्रो बनाउने अभिभावकीय दायित्व पुरा गर्न गराउन वडास्तरबाट सबै विद्यालयहरुमा र विद्यालयस्तरबाट आफ्नो सेवा क्षेत्र भित्रका अभिभावकलाई आमा भेला, घरदैलो अभियान, अभिभावक अन्तक्रिया जस्ता कार्यहरु गर्ने गराउने छौं ।
१८. हरेक विद्यालयका विषय शिक्षकहरुले प्रधानाध्यापकसँग र प्रधानाध्यापकले विनिले शैक्षिक उपलब्धि बढाउनका लागि कार्यसम्पादन सम्झौता करार नामा गरिनुका साथै हरेक विषयगत शिक्षकहरुले विद्यार्थीहरुसँग लक्ष्य निर्धारण गर्नेछौं ।
१९.विद्यालयमा पठन संस्कृति विकासका र शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई विस्तार गर्न प्रत्येक विद्यालयमा क्रमशः पुस्तकालय र कम्प्युटर प्रयोगशाला स्थापना गर्दै लगिने छ, साथै विद्यालयमा पुस्तकालय र कम्प्युटरको प्रयोगमा बढोत्तरी ल्याउन नन् क्रेडिट विषयको व्यवस्थापन गरिनेछ ।

प्रकाशित मिति: २०२३-०५-१७ , समय : ०८:२४:४३ , ९ महिना अगाडि