महासंघको महोत्तरी शाखामा विवाद,बोल्ने कसले ?

रञ्जन भण्डारी , ३९०  पटक हेरिएको

महोत्तरी, असार २

कुनै संस्थालाई संचालन गर्न सोहि संस्थाको विधान अपरिहार्य हुन्छ । विधान विना संंस्था संचालन हुन सक्दैन । यहि विधानमा संस्थाको उदेश्य,काम,कर्तव्य,संचालन विधि लगायतका उल्लेख हुन्छ । तर यहि पालना भएन भने संस्था संचालनमा समस्या आउछ र विधान पालना नगर्ने संस्थाको केन्द्रिय,प्रादेशिक वा जिल्ला शाखा खारेजी÷भंग हुन बाधा पुग्दैन ।
संस्था संचालनको यहि मर्मलाई टेक्दै पत्रकारहरुको हकहित र अधिकार संरक्षण गर्न नेपाल पत्रकार महासंघको गठन भएको हो । महासंघले केन्द्रिय,एशोसिएट,प्रादेशिक र जिल्ला शाखा मार्फत २४०८ महिला,१०६६९ पुरुष गरि कुल १३०७७ पत्रकारलाई महासंघमा आवद्ध गरि संस्था संचालन गर्दै आएको छ । देशैभरिका पत्रकारको महासंघमा सहज पहुच होस भनेर केन्द्रिय कार्यालयले एशोसिएट,प्रादेशिक र जिल्ला शाखाहरुको गठन गरेर कार्य संचालन गर्दै आईरहेपनि केहि जिल्लामा शाखाहरु भने विवादित देखिएको छ ।

सोहि मध्येको विवादमा तानिएको एक शाखा महोत्तरी हो । यहि शाखामा अहिले कार्यसमितिको निर्णय भन्दै सचिवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको छ । सामाजिक संजालमै फोटो सहितको स्टाटसमा कार्यसमिति सदस्यले कार्यालय संचालन तथा व्यवस्थापन अर्थात का.अध्यक्ष भनेर लेख्दै सचिवलाई बधाई ज्ञापन गरेका छन । वर्तमान कार्यवाहक अध्यक्ष,महिला उपाध्यक्ष लगायतलाई पाखा लगाउदै कार्यसमितिले गरेको निर्णयप्रति पत्रकार केहि पत्रकार संगठनहरुले आपत्ति समेत जनाएका छन । यसतो निर्णयले महासंघलाई झनै विवादमा तानेको आरोप छ । विधानमा कतैपनि सचिवले कार्यवाहकको जिम्मेवारी पाउने उल्लेख छैन । कार्यवाहक हुनलाई वरिष्ट उपाध्यक्ष,उपाध्यक्ष र महिला उपाध्यक्षले क्रमश विधान टेक्दै पाउने व्यवस्था रहेको छ । वरिष्ट उपाध्यक्षले अध्यक्ष कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएका,काम विशेषले देश वाहिर रहेमा वा निजको पद रिक्त भएमा कार्यवाहकको जिम्मेवारी पाउने व्यवस्था छ । सोहि अनुसार वरिष्ट उपाध्यक्ष कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएका,काम विशेषले देश वाहिर रहेमा वा निजको पद रिक्त भएमा उपाध्यक्ष, उपाध्यक्ष कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएका,काम विशेषले देश वाहिर रहेमा वा निजको पद रिक्त भएमा महिला उपाध्यक्षले कार्यवाहको जिम्मेवारी पाउने उल्लेख छ ।

“नेपाल पत्रकार महासंघको विधान २०६० (पाचौ संशोधन २०७५) को परिच्छेद ५ को २२ (१) को (क) मा अध्यक्ष कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएमा,काम विशेषले देशवाहिर रहेमा वा निजको पद रिक्त भएमा कार्यवाहक अध्यक्षको रुपमा निजको कर्तव्यको पालना र अधिकार प्रयोग गर्ने जिम्मेवारी वरिष्ट उपाध्यक्ष र सो नभए उपाध्यक्षको हुने उल्लेख छ ”

तर वर्तमान कार्यवाहक अध्यक्ष सुनिता बराल(हेम कुमारी) कृयाशिल भई महासंघको जिम्मेवारी सम्हाल्दै गर्दा सचिव राजकरण महतोलाई कार्यालय संचालन र व्यवस्थापन(कार्यसमिति सदस्य ललन मण्डलको स्टाटस अनुसार कार्यवाहक)को जिम्मा दिएको सार्वजनिक गरिएको छ । कार्यसमितिकै सदस्यबाट कार्यालय संचालन र व्यवस्थान अर्थात कार्यवाहक अध्यक्ष उल्लेख गरेर सामाजिक संजालमा आएकोले यो सुचना गलत हुन नसक्ने स्थानिय संचारकर्मीहरु जिकिर गर्छन । तथापी अझै यसवारे आधिकारिक पत्रमार्फत जानकारी भने आएको छैन । उपाध्यक्षहरु हुदा हुदै सवैलाई वाइपास गरेर सचिवलाई तोकेरै जिम्मेवारी दिइनुले उपाध्यक्षहरु तथा कार्यसमिति विच विवाद रहेको प्रष्ट छ ।

यता कार्यवाहक जिम्मेवारी पाएको भनिएका सचिव राजकरण महतो भने फरक कुरा राख्छन । उनी आफुले कार्यवाहक अध्यक्षको जिम्मेवारी नै नपाएको बताउछन । उनले पत्रकार महासंघ महोत्तरी शाखा संचालनमा विभिन्न समस्याहरु देखिएपछि आफुलाई कार्यालय संचालन र व्यवस्थापनको जिम्मेवारीमात्र दिइएको बताउछन । उनले एउटा सचिवले निभाउने जिम्मेवारी यहि रहेकोले यसमा नौलो केहि नभएको बताउछन ।

कार्यवाहकको जिम्मेवारी हल्लामात्र रहेको र हल्लाकै पछि लाग्नु उपयुक्त नहुने उनको भनाई छ । अहिले नयाँ सदस्यता वितरण लगायतका विभिन्न विषयमा काम गर्नु पर्ने अवस्था रहेको र वर्तमानमा तिनै कामहरु रोकिएको अवस्थामा रहेकोले कार्यसमितिले रोकिएको कामहरु संचालनको लागि आफुलाई जिम्मेवारी सुम्पेको हो । महासंघको विधान नमिचिएको उनको दावी छ ।

आफु काम गर्ने व्यक्ति भएकोले अनाहकको विवाद भन्दा पनि कामलाई महत्व दिने र महासंघलाई निकास दिन आफ्नो शक्ति खर्चिने उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष राजेश कर्णले कार्यवाहक अध्यक्ष वा कार्यालय संचालन र व्यवस्थान को जिम्मेवारी वारे आफुलाई वा प्रदेश समितिलाई कुनै आधिकारिक जानकारी नआएको बताउछन । उनले महासंघबाट यस्तो कुनै आधिकारिक जानकारी आए महासंघको विधान बमोजिम सो रहे वा नरहेको हेर्ने बताए ।

महासंघका विभिन्न पदिय जिम्मेवारीमा रहेका व्यक्तिहरुबाट समेत महासंघ विधान बमोजिम चल्ने भएकोले महासंघको कुनै पनि निर्णय विधान मिच्दै कार्यान्वयन हुन नसक्ने बताउछन । महासंघको बिधान मिच्नु भनेको महासंघलाई ध्वस्त पार्नु भएकोले यस्तो परिकल्पना नै गर्न नसकिने उनीहरुको तर्क छ ।

महोत्तरी शाखामा यस अगावै पुर्व जिल्ला अध्यक्षले गत वर्ष भएको स्थानिय तहको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धा गर्न आफ्नो पदबाट राजिनामा नदिदै चुनावी मैदानमा होमिएका थिए । निर्वाचन पुर्व नै वि.सं. २०७९ वैशाख १२ गते नेपाल पत्रकार महासंघ केन्द्रिय समिति सञ्चारग्राम,काठमाडौं ले एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघको सदस्यता प्राप्त गरेको कोहि पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा,साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न सवै सदस्यहरुलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकुल काम नगर्न आव्हान गरेको थियो । यो अगावै समेत महासंघले पत्रहरु जारी गर्दै निर्वाचनमा भाग लिन चाहेमा राजिनामा दिएरमात्र भाग लिन आव्हान गरिसकेको थियो ।

सोहि विज्ञप्तीको अन्तिम पाराग्राफमा लेखिएको थियो,“महासंघको कुनैपनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्था अनुसार सोही समय देखि कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय यसअघिको केन्द्रिय समितिको वैठकबाट भएको सम्बन्धि सवैमा जानकारी गराईन्छ । ”

तथापी उनीबाट राजिनामा आएन र उनी निर्वाचनमा होमिए । महासंघको केन्द्रिय निर्देशनलाई वेवास्ता गर्दै सोहि वेला नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको लेटरप्याडको दुरुपयोग गर्दै महासंघबाट उनको जितको शुभकामना पनि दिइयो । यसरी केन्द्रबाट नै संचालित जिल्ला शाखाले केन्द्रको निर्णय र निर्देशनलाई वेवास्ता गर्दै गर्दा महासंघको गरिमामा आँच पुर्याउने कार्य भएको ठम्याई थियो । तथापी विधान अनुसार अध्यक्षको पद निर्वाचन पश्चात रिक्त भयो र उपाध्यक्ष रहेकि सुनिता बरालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाइन । उनलाई कार्यवाहक अध्यक्षकै जिम्मेवारी पाउन समेत महासंघमा निक्कै संघर्ष गर्नु परेको थियो । यता पुर्व अध्यक्षले केन्द्रिय निर्णय विरुद्ध अदालतमा मुद्दा समेत हालेका छन । यो उनको अधिकार भएको र अदालतले निर्णय लिने नै छ । तथापी महासंघको विधान विपरित कार्य गरेकोमा उनले विभिन्न आरोप प्रत्यारोप झेल्नु पर्यो ।

गुटको राजनिति हावी हुदै गएको महासंघमा सामाजिक संजालमै गाली गलौज,अपमान र एक अर्का प्रतिको कटाक्षले सिमा नाघिंसकेको छ । गुटको राजनिति हावी हुदै गएको अवस्थामा समग्र पत्रकारिता र पत्रकारमाथि प्रश्न उठन थालेको छ । एक पक्षले अर्को पक्षलाई गाली गर्ने,सार्वजनिक वेइज्जती गर्ने कार्य महोत्तरी शाखामा सामान्य हुदै गएको छ । र यसको लागि कहि कतैबाट कसैलाई कार्यवाही भएको देखिदैन ।

गत पत्रकार महासंघको निर्वाचनमा एउटै प्यानलबाट निर्वाचित भइ उपाध्यक्ष बनेकी सुनिता बराल र सचिव राजकरण महतो पछिल्लो समय सोहि पक्षका पत्रकारहरुबाट ट्रोलमा परेका थिए । उनीहरुलाई सामाजिक संजालको माध्यमले र महासंघकै लेटरप्याडको प्रयोग गरि गाली गलौज र अपमानजनक व्यवहार गरियो । यसकै लागि प्रदेश र केन्द्रको टोलीले समेत हस्तक्षेप गर्दै सहमति गराउने प्रयास गरे । अहिले सोहि समुहबाट पहिले सामाजिक संजालमै अपमान खेपेका सचिव राजकरण महतोले कार्यालय संचालन र व्यवस्थापन को जिम्मेवारी पाएका हुन ।

यस वारे उनी विगतमा कसले के भन्यो भन्नेमा आफु नरहेको बताउछन । उनले कसैले सामाजिक संजालकै प्रयोग गरेर वा महासंघ कै लेटरप्याडमा आफुमाथि केहि गलत गर्न खोजेपनि त्यो उसको वौद्धिक क्षमताको कुरा भएको बताउछन । उनी वर्तमानमा नयाँ सदस्यता वितरण र पुराना सदस्यलाई सम्मान मुख्य चुनौती रहेको बताउदै महासंघको विधान अनुसार नै पाएको जिम्मेवारी निभाउने बताउछन ।

सचिव महतोको भनाई एकातर्फ छदै गर्दा वर्तमानमा महोत्तरी शाखामा देखिएको विवादले पत्रकारलाई हेर्ने दृष्टीकोणमा फरकता आएकै छ । पत्रकार समाजको ऐना भएको मान्यता भएपनि पत्रकारहरु आफैमा एकअर्कालाई टारगेट गर्दै तल देखाउन खोज्ने र एउटै व्यक्तिलाई आवश्यक्ता अनुसार ताली र गाली गर्ने परम्पराको विकास हुदै गर्दा महोत्तरीमा पत्रकार भन्ने वितिक्कै मजाक बनाउन थालिएको सामान्य भैसकेको छ । अरुलाई सिकाउने समुदाय आफै लडाई गर्दा मजाक बन्नु स्वभाविक पनि हो ।

विगतमा एक रहेका दुई मुख्य व्यक्ति बिच टकराव हुदा सम्पुर्ण पत्रकार समुदायले अपमान झेल्नु परेको सर्वविदित छ । आफ्नै स्वविवेक प्रयोग गर्न नसक्दा पत्रकारहरुको योग्यतामाथि समेत प्रश्न खडा भैरहेको वर्तमान अवस्थामा प्रदेश र केन्द्र अगाडी आएर सहिलाई सहि र गलतलाई गलत भन्दै पुरस्कार वा सजाय दिन सक्नु पर्दछ । महोत्तरी शाखालाई अझै प्रदेश र केन्द्रले हस्तक्षेप गरि सहि दिशामा मोड्न सकेन भने महोत्तरीमा पत्रकारिता नै समाप्त हुने अवस्था आउन वेर लाग्दैन । कार्यसमितिमा तथा वाहिर समेत पक्ष र विपक्षको लडाई भैरहदा पत्रकारिता पेशामाथि प्रश्न खडा भएकोमा यसको निकास आवश्यक छ ।

प्रकाशित मिति: २०२३-०६-१७ , समय : २१:११:५३ , १ वर्ष अगाडि