रुपन्देहीमा बिष्फोटक पदार्थ बिष्फोट गराउने घटनामा संलग्न तीन जना पक्राउ

उर्मिला यादव यात्री , ७८३  पटक हेरिएको

भैरहवा, असार १४

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानमा बिष्फोटक पदार्थ बिष्फोट गराउने घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउपालिका वडा नम्बर ४ धमसरका २७ बर्षिय अब्दुल हाकिम खांन , कोटहीमाई गाउपालिका वडा नम्बर ३ पर्सिया का २२ बर्षिय सुरज लोहार , र कोटहीमाई गाउपालिका वडा नम्बर ४ का २४ बर्षिय सुरज थारु रहेका छन ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनाले २०८० वैशाख १ गते जिल्लाको सियारी गाउँपालिका–४ स्थित सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरपछाडीको पर्खाल नजिकै विष्फोटक पदार्थ जस्तो देखिने पदार्थ प्रेसर कुकर बम भेटिएको थियो । भने नेपाली सेनाको विष्फोटक टोलीले उक्त बम डिष्पोज गरेकोे थियो । त्यस्तै गरी असार १ गते बिहान साढे २ बजे सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित भैरव प्रसाद कलवारको शिवम इम्पेक्सको दाना फ्याक्ट्री गोदाम कम्पाउण्डमा पर्खाल बाहिर विस्फोटक पदार्थ प्रेसर कुकुर बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी गत असार १ गते बिहान ६ः१० बजे मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित सिद्धार्थनगर सिटी हस्पिटलको पछाडि रहेको खाली जग्गामा विष्फोटक पदार्थ प्रेसर कुकुर बम विष्फोट भएको थियो । यस्तै गरी सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ बस्ने भैरव प्रसाद कलवारलाई मधेश पिपुल्स पार्टीको नामबाट फोनमार्फत फिरौती रकम माग गरी धम्की दिइएको र तीनै घटनामा संलग्नलाई प्रहरीले यहि असार ११ गते सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना ब्यक्तिहरुबाट लु ८५ प ६१२१ नम्बरको पल्सर मोटरसाइकल , लु २० प २५७२ नम्बरको पल्सर मोटरसाइकल, पोको मोबाइल १ थान, रियलमी मोवाइल १÷१ थान, टाम्बो मोवाइल १ थान र नोकिया मोवाइल १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.कले जानकारी दिनु भएको छ ।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–७ ‘विष्फोटक पदार्थ सम्बन्धी कसुर’ शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको र घटनाको विस्तृत अनुसन्धान पश्चात थप जानकारी गराउने लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उमेश राज जोशीले बताउनु भएकोे छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको उहाले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२३-०६-३० , समय : ००:३४:४८ , ११ महिना अगाडि