कुवेतका लागि काठमाडौं भन्दा भैरहवाबाट हवाई भाडा सस्तो

रुपन्देही खबर , ९०४  पटक हेरिएको

भैरहवा , जेठ १८

जजिरा एयरलाइन्सले नेपालका लागि कुबेतबाट काठमाडौं र भैरहवाबीच हवाई उडान संचालन गर्दै आएको छ । एयरलाइन्सको काठमाडौं–कुबेतको भन्दा भैरहवा–कुबेत बीचको हवाई भाडा निकै सस्तो रहेको छ ।

जजिरा एयरलाइन्सका कन्ट्रि डाइरेक्टर तथा कमर्सियल म्यानेजर अमित नागरथले काठमाडौं–कुबेतको भन्दा भैरहवा–कुबेत हवाई भाडा प्रतियात्रु करिब ८ हजार रुपैयाँले सस्तो परेको बताउनु भएको छ । ‘भैरहवामा हवाई उडान संचालन गरेवापत नेपाल सरकारले हाम्रो एयरलाइन्सलाई दिएको बिशेष सहुलियत हामीले यात्रुलाई दिएका छौं’, भैरहवामा रुपन्देही खबर संग कुराकानी गर्दै नागरथले ‘यही कारणले गर्दा भैरहवा–कुबेतको हवाई भाडा सस्तो भएको बताउनु भयो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुलाई आकर्षित गर्नका लागि बिमान ल्याण्डिङ पार्किङ लगायतका अन्य शुल्कमा पनि नेपाल सरकारले छुट दिएको छ । यस वारेमा केही दिन अघि नेपाल नागरिक उड्डययन प्राधिकरणले स्वीकृतिका लागि सरकार समक्ष पेश गरेको प्रस्तावलाई मन्त्री परिषद बैठकले हालै स्वीकृत गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक तथा प्रबक्ता श्याम किशोर साहले सरकारले दिएको छुट सुबिधा अनुरुप जजिरा एयरलाइन्सले विमानस्थलको एक पटक प्रयोग गरेवापत बिमानस्थललाई बुझाउनु पर्ने २ लाख २५ हजार रुपैयाँको शुल्क छुट पाएको बताउनु भयो ।

गत जेठ २ गते (मे १६) देखि जजिरा एयरलाइन्सले हप्तामा तीन पटक कुबेत–भैरहवा हवाई उडान संचालन गर्दै आएको छ । जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ बिमान सोमवार, बुधवार र शुक्रवार नियमित रुपमा भैरहवाका लागि उडान संचालन गर्दै आएको छ । बुधवारसम्ममा जजिराले सात वटा उडान संचालन गरिसकेको छ । नागरथले कुबेत–भैरहवाबीच हवाई उडान संचालन गरेदेखि नै जजिरा एयरलाइन्स निकै राम्रोसंग संचालन हुँदै आएको बताउनु भयो । ‘व्यवसायिक दृष्टिले हामी निकै सन्तुष्ट छौं’, नागरथले भन्नु भयो ।

उडान संचालन गरेदेखि नै भैरहवा–कुबेतका लागि यात्रुको कमी नरहेको र कुबेत जान काठमाडौंबाट श्रम स्वीकृति लिएका कैयौं नेपाली श्रमिक भैरहवा पायक पर्ने भएकाले काठमाडौंको सट्टा भैरहवाबाट उड्ने गरेको उहाले बताउनु भयो । केही दिन यात्रुको चापलाई हेरेर यही अवस्था कायमैं रहेमा जजिरा एयरलाइन्सले कुबेत–भैरहवा बीचको हवाई उडान संख्या बढाउने योजना रहेको पनि उहाले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२२-०६-०२ , समय : ०७:११:५४ , २ वर्ष अगाडि