एकीकृत सम्पत्ति करमा सुधार गरी पुरानै दर कायम गर्न माग

रुपन्देही खबर , २७५  पटक हेरिएको

भैरहवा, साउन २१

सिद्धार्थनगर नगरपालिकाले बढाएको एकीकृत सम्पत्ति करमा सुधार गरी पुरानै दर कायम गर्न सिद्धार्थनगर स्वतन्त्र नागरिक अभियानले माग गरेको छ । आइतबार नगरप्रमुख इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाउँदै अभियानले जनताको भावनाअनुसार एकीकृत सम्पत्ति वृद्धि गर्ने निर्णय सच्याउन माग गरेको हो ।

अभियानका संयोजक नारायण प्रसाद भण्डारीले अस्वभाविक कर बढाइएकाले यसलाई घटाउनुपर्ने बताउनु भएको छ । सिद्धार्थनगर नगरपालिकाले यसै आर्थिक वर्ष २०८०÷ ८१ साउनदेखि लागू हुने गरी नगरवासीहरुबाट लिँदै आएको एकीकृत सम्पत्ति कर लाई अस्वभाविक रुपमा वृद्धि गरेको बताउनु भएको छ ।

उहाले ‘जनसमुदाय स्तरबाट जानकारी पाएअनुसार ७ सयदेखि १ हजार २ सय प्रतिशतसम्म करवृद्धि गरिएको देखिएको भन्ने जनगुनासोको आधारमा निर्णय सच्याउन नगरपालिकालाई अपील गरेको बताउनु भएको छ । आर्थिक मन्दीले थला परेको अवस्थामा जनताको मत लिएर जनताको काममा राहत हुने किसिमको योजना दिनुपर्नेमा एकाएक करको दरसमेत अस्वभाविक रुपले वृद्धि गरेर ‘जनतामारा नीति’ ल्याउनु राम्रो नभएको भण्डारीको भनाइ छ ।

यदी यो बढेको कर पुरानै गत आर्थिक वर्षको दरमा नलगी यही नै अघि बढाए चरणबद्ध आन्दोलन गर्ने र नगरका सम्पूर्ण कर अवज्ञा गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।नगरप्रमुख खानले करसम्बन्धी माग छिटो भन्दा छिटो सम्बोधन गर्ने बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिका जनतासंग सम्बन्धित कार्यालय भएकाले जनताको भावना विपरीत जान नसक्ने बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०८-०६ , समय : २२:१०:४६ , १ वर्ष अगाडि